पोखरालाई राजधानी घोषणा गर्न सरकारलाई मुख्यमन्त्रीको प्रस्ताव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

पोखरालाई राजधानी घोषणा गर्न सरकारलाई मुख्यमन्त्रीको प्रस्ताव



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गरेको हो ।

बैठकले पर्यटनको राजधानी बनाउनका लागि आवश्यक मापदण्ड बनाउन प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव गरेको गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए ।

औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा हुन सके त्यही अनुसार पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा हुन सक्ने उनले बताए ।

गण्डकी प्रदेशको आर्थिक उत्थान तथा पर्यटन क्षेत्रको पुनरूत्थानका लागि दातृ निकायसँग सहकार्य गर्न उक्त प्रस्ताव गरेको मन्त्री खड्काले बताए ।

यसअघि एमाले नेतृत्वको गण्डकी सरकारले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

प्रदेशलाई डिजिटल गण्डकी प्रदेशको अवधारणा स्वीकृति गर्दै अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । डिजिटल गण्डकी अवधारणा कार्यान्वयन गर्न कानुन मन्त्रीको अध्यक्षतामा कार्यान्वयन समिति समेत गठन गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित त्रिवेणी क्षेत्रको विकास गर्न त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार मन्त्री खड्काले बताए ।

मन्त्री खड्काअनुसार, समितिका सचिव कार्यकारी निर्देशकको रूपमा रहने र कार्यकारी निर्देशकको नियुक्ति गण्डकी सरकारले नै गर्नेछ ।