कृष्ण बरालको साङ्गीतिक एल्बम 'हजार चोट'को बिमोचन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कृष्ण बरालको साङ्गीतिक एल्बम ‘हजार चोट’को बिमोचन



तिलु शर्मा पौडेल/दोहा कतार

लमजुंङ् जिल्लाको नाम लिनु पर्दा नेपाली साङ्गीतिक जगत्मा मात्र नभई हरेक क्षेत्रमा योगदान दिएको वीरता बोकेको जिल्ला हो । सोही जिल्लाका एक सुपुत्र तथा दोहा कतारको नेपाली समुदाय तथा गृह जिल्लामा समेत समाजसेवीको परिचय बनाएका कृष्ण बरालको साङ्गीतिक एल्बम “हजार चोट”को एक भव्य कार्यक्रमका बिच बिमोचन गरिएको छ । शुक्रवार साँझ सल्वा रोडमा स्थित ग्रिन रेस्टुरेन्टको सभा हलमा आयोजित कार्यक्रममा बिमोचन गरिएको उक्त कार्यक्रमलाई स्वयम् बरालले सभापतित्व गरेका थिए भने चर्चित सञ्चारकर्मी नरेश भट्टराई प्रमुख अतिथि रहेका थिए ।

विशेष अतिथिहरूमा नेपाली चलचित्र जगताक चिरपरिचित कलाकार मनोज केसी, वसन्त फिल्मस् प्रालिका म्यानेजिङ् डाइरेक्टर ईश्वर काफ्ले, बुम रेमिट कम्पनी कतारका प्रबन्ध निर्देशक धिरेन्द्र पन्त, सिमानामा काडेतार अभियानका गल्फ संयोजक सुशील खड्का, व्यवसायी तथा समाजसेवी कृष्ण भट्टराई लगायतका रहेका थिए भने विभिन्न जिल्ला सङ्घ सङ्गठन प्रमुख तथा पत्रकार लगायतका व्यक्तिहरू अतिथि रहेका थिए ।

ब्यानर अनाबरण, दीप प्रज्वलन तथा राष्ट्रगान सँगै अघि बढेको उक्त कार्यक्रमलाई रीत कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए l उक्त एल्बममा रहेको म्युजिक भिडियोलाई प्रोजेक्टर मार्फत स्क्रिनमा देखाइएको थियो । म्युजिक नेपालको युट्युब च्यानल मार्फत केही दिनमा डिजिटल बजारमा आउने तयारीमा रहेको उक्त एल्बममा स्वर रीत कुमार श्रेष्ठ, शब्द स्वयम् गायक तथा श्यामराज रानाभाटको रहेको छ । भिडियोको निर्देशन मनोज केसीले गरेका हुन । गीतमा कृष्ण बराल, रीत कुमार श्रेष्ठ, मालती घले र अस्मिता शाहानीले अभिनय गरेका छन् ।

भिडियो निर्माणका क्रममा भएका तितामिठा पलहरूको स्मरण गर्दै निर्देशक केसीले नेपाली साङ्गीतिक फाँटमा नयाँ कलाकार,निर्माता लगायतलाई निचोर्न खोज्ने रोगले विकृतिको रूप लिएको भन्दै जो कोही पनि नयाँ व्यक्तिको लागि आफूले सक्ने सहयोग कुनै पनि समयमा गर्ने र बुझेर मात्र यो क्षेत्रमा आउँन अनुरोध गर्दै “हजार चोट” एल्बम आफ्नो कृएशन भएको हुँदा माया गरिँदिन हुन आग्रह गरे ।

शुभकामना मन्तव्यको क्रममा वसन्त फिल्मसका प्रबन्ध निर्देशक काफ्लेले मितेरी फिल्मस् सांस्कृतिक समूह दोहा कतारको सहयात्रा तथा वसन्त फिल्मस् प्रालिको प्रस्तुतिमा बजारमा आउने उक्त गीतको हिस्सा बन्न पाउँदा आफू अत्यन्त हर्षित भएको कुरा बताउँदै उक्त गीतको बजार व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले बरालको मन गीत सङ्गीत र समाजसेवामा अझै बढी लागोस भन्दै एल्बमको सफलताको शुभकामना व्यक्त्त गरेका थिए । सिताराम थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति तथा गीतका मोडेल समेत रहेका बरालले आफ्नो लागि यो गीत जीवनको अविस्मरणीय पलसँग जोडिएको भन्दै उपस्थित सबैलाई धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।