केपी ओली दुःखी, प्रचण्ड सुखी नेता !
काठमाडौं– कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।
६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो। तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए । ओली-दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन्। हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन ।
आरोप-प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए । ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे ।
पहिलो भेट : भारतको सिलिगुडीमा
ओली-दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो । यी दुई नेताबीच २०५९ सालमा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो, त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा । नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली-दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो ।
त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड-जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ ।’ ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए । त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन । जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन । ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक-अर्कासँगको संवादलाई महŒव पनि दिएनन् । यसो हुनुमा दुवै नेतामा एक-अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन् ।
ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल
ओली-दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन् । ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ । अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए । तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन । सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो । उनलाई पढ्नका लागि दुःख गर्नुपरेन । कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन् । उनले त्यसरी पढ्ने अवसर पनि पाएनन् । दाहाल चितवन, गोरखालगायत विभिन्न विद्यालयमा केही समय अध्यापनमा पनि सहभागी भएका थिए ।
ओलीका छोरा-छोरी छैनन् । दाहालका एक छोरा र तीन छोरीमध्ये एक्ला छोरा प्रकाशको मंसिर ३ मा हृदयाघातका कारण ३६ वर्षको उमेरमा निधन भयो भने जेठी छोरी पनि केही वर्षअघि क्यान्सरका कारण बितिन् । अहिले दाहालका रेणु र गंगा दुई छोरी छन् । रेणु भरतपुर महानगरकी मेयर हुन् ।
ओली दाहालभन्दा ३४ महिना जेठा
ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन् । ओली २००८ फागुनमा झापामा जन्मिएका हुन् । दाहाल भने २०११ मंसिरमा कास्कीमा । दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन् । उनले २०२६ सालमा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित भएका थिए । दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक-राजनीतिक स्कुलिङ फरक थियो । तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ । २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली । ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए ।
अन्तरमुखी ओली, बहिर्मुखी दाहाल
ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ । अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन् । दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन् । त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ । तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन् ।
ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन् । उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला-मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन् । वाम विश्लेषक श्याम श्रेष्ठको भनाइमा ओली र दाहाल दुवै नेता डिसिजन लिने सवालमा असाध्यै ‘बोल्ड’ छन् । पार्टीमा पनि दुवैको आफ्नै पकड छ तर प्रचण्ड लचिलो र ओली कसिलो स्वभावका नेता भएको उनको बुझाइ छ । ‘पर्सानालिटीका हिसाबले दाहाल अलिक लचिलो बन्न सक्छन् तर ओली रिजिक्ट छन्,’ दुई नेताको चरित्र चित्रण गर्दै उनी भन्छन् ।
त्यसो त यी दुवै नेता एकअर्कालाई अझै पनि आशंकाले हेर्छन् । दुवै एकअर्कालाई चतुर राजनीतिक खेलाडी ठान्छन् । जसकारण एकअर्काको बडी ल्याङवेजलाई पनि अर्थपूर्ण ढंगले हेर्छन् । दुवै नेताले लिने बोल्ड डिसिजनमा पार्टीभित्र कसैले पनि खुलेर औंला उठाउने हिम्मत गर्दैनन् । दुवै नेता सिद्धान्तभन्दा शक्तिमा विश्वास गर्ने स्वभावका भएका कारण पाँच महिनायता पार्टी एकता वार्ता अप-डाउन हुँदै निष्कर्षमा पुगेको हो ।
अन्नपूर्ण पोस्टबाट