ओलीले भने: सरकारको बिरोध गर्नेलाई सिध्याउनु पर्छ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीले भने: सरकारको बिरोध गर्नेलाई सिध्याउनु पर्छ !



काठमाडौँ – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुप्रति नै लक्षित गर्दै सरकारको आलोचना गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले सरकारको आलोचना गर्नेविरुद्ध सामूहिक प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सरकारको प्रतिरक्षामा आफू मात्र बोल्नु परेको भन्दै दुखेसोसमेत पोखे ।

उनले सरकारविरुद्ध प्रतिक्रियावादीहरुले हमला गरेर जनतामा निराशा पैदा गर्न खोजेको आरोप लगाए । ओलीले भने, ‘केपी ओलीलाई हमला गरेको छ, मलाई होइन भनेर चुप लागेर बस्ने होइन । अरिंगालको गोलो जस्तै झम्टिनुपर्यो। एउटालाई आक्रमण गर्दा सबै जाइलाग्नुपर्छ । अरिंगालको जति पनि हाम्रो बुद्धि छ कि छैन ?’

ओलीले बोटगीको सपना पूरा गर्न पार्टी एकता सुरु गरिएको र यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाए । ‘उहाँको सपना आर्दश, राजनीतिक मात्र होइन सबै अधिकार भएको लोकतान्त्रिक समाज बनाउने हो । साना स्वार्थ, जिद्द, अहंकारमा अल्झियौं भने उहाँका सपना पूरा हुँदैनन् । पार्टी एकतालाई गति दिनैपर्छ।’, ओलीले भने ।

कार्यक्रममा अध्यक्ष ओलीले आफू र अर्का अध्यक्ष प्रचण्डबीच दूरी बढाउने प्रयास पार्टीभित्रैबाट भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘पार्टी एकताप्रति अन्तरविरोध बढाउने, दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको छ । उहाँ र म एउटै मान्छे त होइन । केही फरक त भइहाल्छ ।’

ओलीले एकताप्रति बाहिर ठिक्क र भित्रभित्रै भाड्ने प्रयासमा नेताहरु नै लागेको आरोप लगाए ।

‘एकताप्रति बाहिर बाहिर ठिक्क देखिने भित्रभित्रै भाँड्न खोज्नेहरु सक्रिय भइरहेका छन् । त्यसप्रति सचेत रहनुपर्छ । हामी दुईजना सबै अन्तरविरोधलाई आर्दशको ग्लूद्वारा जोडेर अघि बढ्छौं ।’

अध्यक्ष ओलीले पार्टी एकता जाने श्रीखण्ड नजाने खुर्पाको बिँड हुने चेनावनी दिए । उनले भने, ‘हामीले श्रीखण्ड पैदा गरेका छौं । जान्यो भने यो श्रीखण्डले विश्वभर सुगन्ध फैल्याउँछ । अन्यथा खुर्पाको बिँड हुनेछ ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताप्रति विश्वभरबाट विश्वास व्यक्त भइरहेको उल्लेख गरे । उनले सकारात्मक र रचनात्क ढंगले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनु र जनअपेक्षाअनुसार काम गर्नु नेता बोगटीप्रति श्रद्धाञ्जली बताए ।

हृदयाघात र मष्तिष्कघातका कारण बोगटीको २०७१ भदौ ३० गते निधन भएको थियो ।