प्रधानमन्त्री ओलीको गफ, यस पटक पनि बढेन सामाजिक सुरक्षा भत्ता - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओलीको गफ, यस पटक पनि बढेन सामाजिक सुरक्षा भत्ता



काठमाडौं | नेपालमा २०४६-०४७ सालको राजनीतिक परिवर्तन ल्याउन मदन भण्डारीको निर्णायक भूमिका रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री ओलीले २०४६ साल अघिको प्रशंग उल्लेख गर्दै त्यतिबेला कांग्रेस र कम्युनिष्टहरुको शितयुद्ध रहेको बताएका छन् । काठमाडौंमा जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनले शितयुद्धबाट दलहरुलाई एकतावद्ध पार्ने नेतृत्वको खाँचो रहेका बेला मदन भण्डारीको उदय भएको बताएका छन् ।

उनले भने, ‘पुष्पलालले धेरै पहिल्यै भन्नुभएको थियो, राजाले हामीलाई फुटाएर राज गरिरहेका छन्। त्यसकारण कांग्रेस कम्युनिष्ट मिलेर पंचायत विरुद्ध संघर्ष गर्नुपर्छ। हामीले त्यो कुरा कांग्रेसलाई बुझाउनै सकेनौं । तर! जब मदन भण्डारी तत्कालिन मालेको महासचिव हुनुभयो, वहाँको चमत्कारिक नेतृत्वले कांग्रेसलाई पनि सम्झाउन सफल भयो र कांग्रेस कम्युनिष्टबीच गठबन्धन भएर पंचायतको अन्त सम्भव भयो।’
अब नेपालमा नाकाबन्दी युगको अन्त भएको प्रधानमन्त्री ओलीले बताए। ‘हाम्रो बोल्न नसक्ने हिन भावका कारण छिमेकीले हेपेको हो, नाकाबन्दी लगाएको हो । तर! जब हामीले नाकाबन्दी विरुद्ध बोल्यौं, हाम्रो राष्ट्रियतामाथि टकराउनेहरु पराजित भए। हामी कुनै पनि छिमेकीका विरुद्ध हाम्रो भूगोल प्रयोग हुन दिन्नौं। सबैसँग सन्तुलित सम्बन्ध कायम राखेर अघि बढ्छौं।’

छिमेकीसँग सानो ठुलो होईन, बल्ल बराबरीको सम्बन्ध कायम भएको उनले दाबी गरे । राष्ट्रियता र स्वाधिनता ठिक ठाउँमा आएको तथा विगतमा तराई डुवान हुँदा सरकार थियो कि थिएन भन्ने प्रश्न गर्दै आफु प्रधानमन्त्री हुनासाथ डुवानको समस्या समाधान गरेको दाबी गरेका छन् ।

दिल्लीबाट सिधैं नेपालको आकाश प्रयोग गर्न नपाउने स्थितिको अन्त भएको उनले जानकारी दिए। १९५० को असमान सन्धि खारेज हुने चरणमा रहेको उनले दाबी गरे। भारतीय प्रधानमन्त्री मोदी नेपाल आएर हस्तक्षेप नगर्ने प्रतिवद्धता जाहेर गरेको पनि उनले जानकारी दिए ।

ओलीले देश समृद्धिको बाटोमा अघि बढीसकेको बताए। उनले अघिल्लो पटक आफु पहिलो चोटी प्रधानमन्त्री हुँदा पानी जहाजको कुरा गर्दा कतिपयले बाल्टीको पानीमा कागज डुबाएर खिल्ली उडाएको बताए। उनले भने, ‘पानी जहाज आउँछ, तपाईंहरु त्रिबेणीबाट पानी जहाज चढेर कलकत्ता जान पाउनुहुन्छ।’ यस्तै उनले पूर्व पश्चिम रेल पनि छिट्टै बन्ने दाबी गरे। त्यस्तै प्रधानमन्त्री ओलीले घरघरै ग्यास पाईप पुर्याउने पनि दोहोर्याए। ‘मान्छेहरु धुवाँमा फु–फु गरेर आगो बालेर भात पकाउँदा मैले ग्यास पाइपको कुरा गर्दा मान्छे झण्डै बेहोस भए।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाउन नसकिए भएतापनि अर्को साल भने सामाजिक सुरक्षा भत्तमा बृद्धि जानकारी दिए ।

उनले विकासको बाधक बनेका घरहरु हटाई एकीकृत बस्ति विकास गर्ने पनि बताए । उनले यतिबेला विकास र समृद्धि प्रमुख कुरा हो भन्दै अहिले कानुन बनाउने चरणमै रहेको र आगामी असोज ३ गतेभित्रै सबै कानुन बनाइसक्ने दाबी गरे।