केपी ओलीको नियती ज्ञानेन्द्रको जस्तै हुन्छ: नागरिक अभियन्ता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

केपी ओलीको नियती ज्ञानेन्द्रको जस्तै हुन्छ: नागरिक अभियन्ता



नागरिक स्वतन्त्रताको पक्षमा उभिदाँ सत्ताधारीहरूले जहिले पनि केही न केही भन्ने गरेका छन् । शाही पञ्चायतकालमा अराष्ट्रिय तत्व भनिन्थ्यो, उग्रवादी भनिन्थ्यो, ज्ञानेन्द्रको शासनकालमा कोही कसैबाट सञ्चालित भनिन्थ्यो ।

आज डा. गोविन्द केसीको पक्षमा उभिदाँ हामीलाई काँग्रेसबाट सञ्चालित भनिदैँछ । र अहिले हामीलाई यस्तो तिनले भनिरहेका छन्, जो इतिहासमा धेरै ठूल्ठूला जनअधिकारका संघर्षबाट आएका थिए ।

वास्तवमा म आज तपाईंहरूको अगाडी डा. गोविन्द केसीको जीवन रक्षा गरिदेउ भनेर ओलीको अगाडी निवेदन गर्न आएको होइन । डा. केसी सन्त हुनुहुन्छ, जोगी हुनुहुन्छ, वहाँ लोभ भन्दा माथि हुनुहुन्छ, भय भन्दा माथि हुनुहुन्छ, डा. केसी त यसै पनि अमर भइसक्नुभएको छ ।

म मेरा पुराना कमरेडहरू श्रीमान् खड्गप्रसाद ओली र पुष्पकमल दाहाललाई तिमीहरू आफ्नो नाक जोगाउ भन्न आएको हुँ । अहिले  खड्गप्रसाद ओलीको सरकारले लगभग चार महिना बित्न नपाउँदै हामीलाई ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।

डा. केसी सत्याग्रही हुनुहुन्छ, सामाजिक कल्याणको पक्षमा लडिरहनुभएको छ । डा. केसीले अगाडि सारेका जे जति मागहरू छन्, ती मागहरू वास्तवमा नेपाली समाजलाई समाजवादतर्फ डोर्‍याउने मागहरू हुन् । तर आफुलाई जनवादी भन्नेहरू, आफुलाई समाजवादी भन्नेहरू डा. केसीमाथि अपराधीको व्यवहार गरिरहेछन् ।

अहिले अस्पतालभित्र लाठीचार्ज गरिएको छ, अस्पतालभित्र गोली चलाइएको छ र सत्याग्रही डा. केसीलाई अपहरणको शैलीमा काठमाण्डौ ल्याइएको छ । काठमाण्डौ ल्याएपछि डा. केसीसँग वार्ता गर्ने विषयमा सरकार केही पनि भन्दैन । के ओली सरकार डा. केसीको मृत्युको प्रतीक्षामा छ ? के ओलीले डा. केसी मरेको हेर्न चाहेको हो ? वास्तवमा यो कुनै सजिलो कुरा होइन ।

बितेको एक महिनाको बीचमा ओली सरकार आमनेपालीका माझमा जति अलोकप्रिय भएको छ, जति बदनाम भएको छ, इतिहासमा यति छोटो समयमा कुनै पनि सरकार बदनाम भएको छैन ।

म तपाईंको अगाडी चार–पाँचवटा कुराको उल्लेख गर्छु । खड्गप्रसाद ओली भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्नुहुन्छ, ओलीले के गर्नुभयो ? दुई वटा बुलेटप्रुफ गाडी हुँदा हुँदै आफुलाई राजाजस्तो देखाउनको निम्ति दुई वटा बुलेटप्रुफ मर्सिडिज माग गर्दै हुनुहुन्छ ।

ओलीको कार्बनकपीको रुपमा रहेका पर्यटनमन्त्री रविन्द्र अधिकारी ६० करोड रुपैयाँ आफ्ना आउरे–बाउरे, भरौटेहरूलाई राणाकालमा राणा सरकारले बक्सिस बाँडे जसरी बाँडिरहेका छन् ।

संसद संसदभित्रका प्रतिनिधिहरूको हो र सत्ता सरकारको हो भने सडक आमजनताको हो । सडकका छेउछाउमा भएको आमनागरिकहरूले आफ्नो मत व्यक्त गर्ने साना डबलीहरूप्रति पनि खड्गप्रसाद ओली डाह छ, र तिनले निषेधाज्ञा जारी गरेका छन् । हामीलाई रत्नपार्कमा उभिने अधिकार छैन । हामीलाई मण्डलामा उभिने अधिकार छैन । यस्तो त ज्ञानेन्द्रको तानाशाही फौजीकालमा मात्रै भएको थियो ।

त्यसैले मेरो निवेदन के हो भने, खड्गप्रसाद ओली र पुष्पकमल दाहालले आफ्नो इतिहासको याद गरुन् । चुनावताका जनताका अगाडी गरेका बोल-कबोलको याद गरुन् । तिनले आफै माफियाको दलालको रुपमा, आफै चिकित्सा सेवा र शिक्षाको व्यापारीको रुपमा उभिएर जसरी आफ्नो नाक काटेका छन्, तिनले आफ्नो नाकको उपचार गरुन् ।

कदाचित् गोविन्द केसीलाई केही भयो भने के हुन्छ मलाई थाहा छैन । डा. केसीका मागहरूप्रति व्यवहार गरिरहँदा खड्गप्रसाद ओली र पुष्पकमल दाहालको सरकारले नागरिक हकको विरुद्धमा उभिदाँ, सर्वसत्तावाद लागू गर्ने चेष्टा गरिरहँदा, सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर हामीमाथि फाैजी शासन लाद्न खोजिरहँदा ज्ञानेन्द्रको के नियती भयो ? खड्गप्रसाद ओलीको नियती पनि त्यहि हुनेछ ।

त्यसैले अन्तमा म फेरि पनि दोहोर्‍याउँछु, डा. केसीले त अमरत्व प्राप्त गरिसक्नुभयो, सरकारको नैतिक नाक भने विगत एक महिनाको बीचमा धेरै ठुन्किसकेको छ, बाँकी रहेको नाक तिनले जोगाउन्, डा. केसीको माग पुरा गरुन् र आफ्नो सरकारको आयु केही दिन भए पनि लम्ब्याउन् ।

शनिबार नयाँ बानेश्वरमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै लेखक खगेन्द्र संग्रौलाले व्यक्त गरेको विचार