कोटेश्वर बैठक: ओलीविरुद्ध नयाँ रणनीति
काठमाडौं- विपक्षी दलका शीर्ष नेताहरू केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सुदृढ बनाउनुपर्ने निष्कर्षमा पुगेका छन्। उनीहरूले ओली र ओली प्रवृत्तिबिरुद्ध तल्लो तहसम्म सहकार्य गर्ने नयाँ रणनीति बनाएका हुन् ।
सोमबार साँझ एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालबीच भएको भेटवार्ताले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमबाट सम्भावित दुर्घटना हुन नदिन नयाँ रणनीति बनाउने सहमति गरेका हुन्।
गठबन्धनलाई कमजोर बनाउन षडयन्त्र हुनसक्ने भएकाले त्यसतर्फ सतर्क रहँदै प्रदेशसम्म गठबन्धनलाई मजबुत बनाएर अगाडि बढ्ने निष्कर्ष शीर्ष नेताहरूले निकालेको भेटमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
संविधान, लोकतन्त्र, जनताको हक अधिकार, स्वतन्त्र न्यायपालिकाको रक्षा र सम्मानको रक्षाका साथै कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सरकारको उदासीनता लगायतका विषयमा छलफल भएको उनले बताए।
संविधानका विभिन्न अङ्गहरूमा सरकारको तर्फबाट भइरहेको हस्तक्षेपका साथै न्यायालयलाई समेत प्रभाव पार्न खोजेको विषयमा शीर्ष नेताहरूले समीक्षा गरेको खड्काले जानकारी दिए।
उनले विपक्षी गठबन्धनका शीर्ष नेताबीच झन्डै डेढ घण्टासम्म चलेको भेटवार्तामा केन्द्रदेखि प्रदेशका साथै सबै तहमा एकतावद्ध भएर अगाडि बढ्ने कुरामा जोड दिइएको बताए।