भारतमा भटाभट भेटिन थाले कोरोनाका संक्रमित बिरामी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतमा भटाभट भेटिन थाले कोरोनाका संक्रमित बिरामी



एजेन्सी- भारतको केरलामा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको तीन दिनपछि अर्का व्यक्तिमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

केरलाको थ्रिसुरमा चीनको वुहानबाट फर्किएका विद्यार्थीमा आइतबार कोरोनाको संक्रमण भेटिएको भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्दनले बताएका छन् ।

उनी जनवरी २४ मा वुहानबाट केरला फर्किएका थिए । उनलाई अहिले आइसोलेसन वार्डमा राखेर उपरचार भइरहेको बताइएको छ । केरालाभर १७ सय ९३ जना निगरानीमा रहेको र ७० जनालाई आइसोलेसन वार्डमा राखिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

केरलाका स्वास्थ्यमन्त्री केके शैलाजाले पत्रकार सम्मेलन गर्दै भनेकी छन्, “हामी सुरुवातदेखि निकै सजगता अपनाइरहेका छौं । यसको उत्कृष्ट उपचार विधि भनेको आइसोलेसनमा राख्नु हो ।” उनले आफ्नै घरमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई २८ दिन पूरा नहुन्‍जेलसम्म बाहिर ननिस्किनसमेत आग्रह गरेकी छन् ।

कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका छन् । नोभेल कोरोना भाइरसका कारण फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।

भारतले शनिबार ३२३ भारतीय र माल्दिभ्सका ७ नागरिकलाई चीनको वुहानबाट फिर्ता ल्याएको थियो । त्यसैगरी बाँकी अन्य भारतीय नागरिकलाई फिर्ता ल्याउन एयर इन्डियाको अर्को विमान वुहानका लागि उडेको छ ।

वुहानबाट फिर्ता ल्याइएका भारतीय नागरिकमा कोरोनाको भाइरसको संक्रमण नभेटिएकोसमेत बताइएको छ । चीनबाट फिर्ता ल्याएका ३०० जनालाई भारतीय सेनाले तयार गरेको मनेसरमा क्वारेन्टाइनका लागि आइसोलेसनमा राखिएको छ भने बाँकीलाई आइतबार चवाला क्याम्पमा राखिएको छ ।

एयर इन्डियाका चालक दलका सदस्यहरुलाई उनीहरुको घरमै बस्‍न आग्रह गरिएको छ । तर, अहिलेसम्म उनीहरुलाई कुनै लक्षण भने देखिएको छैन ।