कोरियामा पनि निको भएकाहरूलाई फेरि कोरोना संक्रमण - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोरियामा पनि निको भएकाहरूलाई फेरि कोरोना संक्रमण



एजेन्सी – दक्षिण कोरियामा फेब्रुअरीपछिकै सबभन्दा कम नयाँ संक्रमित फेला परेको यो पहिलो दिन हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित फेला परेको र तीन जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

दक्षिण कोरियाली अधिकारीका अनुसार नोभेल कोरोना भाइरसको उपचार भएको ६ हजार ४०० लाई उपचारपछि क्‍वारेन्टाइनमा राखेर घर पठाइएको जनाइएको छ । तर, यीमध्ये ५१ जनामा पुन: कोरोना संक्रमण देखिएको दक्षिण कोरियाको रोग नियन्त्रण र उपचार केन्द्रले जनाएको सिन्ह्वामा उल्लेख छ ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार २८४ पुगेको छ भने १८६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिया सरकारले सामाजिक दूरी कायम गर्ने नियम थप दुई साताका लागि थप गरेका छन् । तर, युरोप र अमेरिकाकोजस्तो लकडाउनको प्रावधान भने लागु गरिएको छैन ।

कोरोना भाइरसविरुद्धको दक्षिण कोरियाको व्यापक टेस्टिङ र ट्रेसिङलाई विश्वभरबाट प्रशंसा भइरहेको छ । तर, दक्षिण कोरिया उपस्वास्थ्यमन्त्रीले भने एकदिनको तथ्यांकलाई हेरेर संक्रमण घट्‍यो भन्‍नु निकै चाँडो हुने बताएका छन् ।

दक्षिण कोरियालीहरुले मुलुकभित्रको प्रकोप अन्त्य भइनसकेको चेतावनी दिएका छन् । वसन्तको सुरुआतसँगै देशभरका पार्कहरुमा चेरी फुल्ने र त्यसलाई हेर्नका लागि मानिसहरु पार्कमा जम्मा हुने भएकोले संक्रमण फैलिने त्रास बढेको छ । त्यसैगरी सिओलको गाङनाम क्षेत्रका नाइट क्लबहरुमा पनि ठूलो भिडभाड रहेको दक्षिण कोरियालीहरुले बताएका छन् ।