उत्तर कोरिया र अमेरिकाको वार्ता सङ्कटमा
(एजेन्सी) । उत्तर कोरियाले सैन्य चुनौती र दबाब दिइरहेको भन्दै अमेरिकाको आलोचना गरेको छ ।
अमेरिकी कदमबाट शान्ति कायम गर्ने प्रयासमा चुनौती थपिएको उत्तरको भनाइ छ ।
दुई मुलुकबीच ऐतिहासिक शिखर वार्ताको तयारी भइरहेको बेला उत्तरको यस्तो भनाइ आएको हो ।
उत्तर कोरियाली विदेश मन्त्रालयले आणविक हतियार नत्यागेसम्म प्रतिबन्ध नहटाउने भन्दै अमेरिकाले उकासिरहेको उल्लेख गरेको छ ।
निःशस्त्रीकरणबाटमात्र प्रतिबन्धलगायतका अरु दबाब हट्ने भन्दै वासिङ्टनले जनआवाजलाई गलत ढंगबाट अगाडि बढाइरहेको उत्तर कोरियाली विदेश मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्यशक्ति परिचालन गरेर शान्ति र मेलमिलापको पक्षमा बन्दै गएको राम्रो वातावरण बिगारिरहेकोसमेत जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले केही हप्ताभित्रै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
तर, उत्तर कोरियाको पछिल्लो भनाइबाट दुई मुलुकबीचको शिखर वार्ता सहज नदेखिएको विश्लेषण हुन थालेको छ ।
गत महिनामात्र उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने विषयमा ऐतिहासिक सहमति भएको थियो ।