कुलमानको प्लान : काठमाडौंमा लाङटाङको पानी, चीनलाई बिजुली - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

कुलमानको प्लान : काठमाडौंमा लाङटाङको पानी, चीनलाई बिजुली



नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला (लेक्चर सेरिज) मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् ।

उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।”

छिमेकी राष्ट्र चीनले तिब्बतदेखि गेरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र गेरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । “गेरुङबाट केरुङ र रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,”  आजको कारोबारमा खबर छ ।

उनले भने, “चीन भ्रमणको क्रममा उनीहरूले त्यो लाइनमार्फत नेपाललाई १५ सय मेगावाट बिजुली दिन तयार रहेको बताएका छन्, नेपालले दिएमा किन पनि तयार रहेको बताएका छन् ।” उनले चीनका अन्य प्रदेशमा बिजुली आवश्यक रहेको र लक्ष्यअनुसार उत्पादन बढाउन सकेमा हामीले भोलि चीनलाई बिजुली बेच्न सक्ने सम्भावना पनि रहन्छ । गत वर्षामा भारतलाई ५ करोड बराबरको बिजुली नेपालले बेचेको र हाल भारतबाट ३ सय ७२ मेगावाट आयात गरिरहेको भन्दै उनले भारतसँग इनर्जी बैंकिङको लागि छलफल अघि बढाएको पनि सुनाए ।