संसदमा कोमल वलीको आक्रोश: एक शब्द नबोल्ने, समिति बनाएर टार्ने ?
काठमाडौँ- राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै आलोचना गरेकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन् ।
उनले बीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बीपी कोइरालाकै अपमान भएको टिप्पणी गरिन् । ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बीपीका अनुयायीहरुको चरित्र ? यो बीपी कोइरालाको अपमान हो । बीपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो,’ उनले भनिन् ।
देश, मानवीय, जनताको इस्युलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? भन्ने प्रश्न तेर्स्याउँदै सांसद ओलीले भनिन्, ‘बीपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? बीपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौंला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औंला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’
उनले नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंगित गर्दै डुंगामा प्वाल परिसकेपछि महसुस गर्नुले कुनै अर्थ नराख्ने जवाफ फर्काइन् । ‘एक जना आदरणीय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौं पनि भन्नुभयो । राम्रो कुरा । तर प्वाल परिसकेपछि अब त्यो प्वाल जोडीँदैन भनिसकेपछि त्यसको महसुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ?’ उनले थपिन्, ‘अब वर्तमान र भावी पिढीले बुझ्नुपर्दछ एउटै पानी जहाजमा सयर गर्नेहरुलाई बिनाविभेद जनताले विश्वास गरे, समर्थन गरे तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसकेपछिको रियलाइजेसनको अर्थ हुन्छ र ?’
उनले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गरिन् । वर्तमान सरकारले भोको पेटको दर्दलाई महसुस गर्न नसकेको उनको भनाइ थियो ।
यस्तै सांसद गंगाकुमारी बेल्वासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । उनले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा भएका समस्याहरुका कारण कोरिया जान नपाएको भन्दै उनीहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बसिराख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्नका लागि पनि सरकारसँग उनले अनुरोध गरे ।
सांसद तारादेवी भट्टले सरकारले स्वास्थ्य संस्थाहरुको गुणस्तर बढाउनुपर्ने बताएकी छन् । सांसद भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरुको प्रयोग गर्नुपर्ने बताइन् ।
सांसद विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरिन् । उनले संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउनुपर्ने बताइन् । बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचानसम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता पूरा गर्न नसकेको बताइन् ।