कांग्रेस सरकार बनेपछि हिन्दुराष्ट्रबारे जनमतसंग्रह गर्ने कोइरालाको घोषणा
नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।
उनले नेपाली कांग्रेसको सरकार बने लगत्तै हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा समेत गरेका छन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास गर्दै कोइरालाले शनिबार हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने आफ्नो अडान रहेको बताए ।
उनले कुनैपनि देशको धर्म सापेक्ष वा निरपेक्ष नभइ स्वतन्त्र हुनपर्ने आफ्नो मान्यता रहेको जनाउँदै मुलुकमा हिन्दु राष्ट्रको मुद्दा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने बताएका हुन् ।
यस्तै, अर्को एक कार्यक्रममा महामन्त्री कोइारालाले अब हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई टिकट वितरण गर्दा जिल्ला सभापतिहरुलाई अधिकार दिनु पर्ने बताए ।
निर्वाचनमा कुन साथीको अवस्था राम्रो छ भन्ने कुरा सम्बधित जिल्ला सभापतिलाई थाहा हुने भएकाले जिल्लाबाटै टिकट वितरण गरेर उम्मेदवारको टुंगो लगाउने व्यवस्था उपयुक्त हुने बताए ।