कोहली विश्वकै नम्बर एक ब्याट्सम्यान त हुन् : रिकी पोन्टिङ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोहली विश्वकै नम्बर एक ब्याट्सम्यान त हुन् : रिकी पोन्टिङ



भारतीय तथा अष्ट्रेलियन क्रिकेटरबीचको प्रतिस्पर्धा त सबैलाई थाहा छ । कुनै पनि ठूला श्रृङ्खला सुरु हुनुपूर्व दुवै देशका दिग्गज खेलाडी एक अर्काप्रति कठोर आलोचनामा उत्रिन्छन् ।

इंग्ल्याण्डसँग जारी श्रृङ्खलाका बीच अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले भारतीय कप्तान विराट कोहलीका बारेमा बोलेका छन् । हरेक खेलमा नयाँ कीर्तिमान कायम गरिरहेका विराट कोहली रिकी पोन्टिङका लागि अहिलेका सर्वश्रेष्ठ खेलाडी त हुन् तर स्टिभ स्मिथ नखेलाकाले मात्र । पोन्टिङलाई विश्वका एक नम्बर ब्याट्सम्यान को हुन् भनेर सोधिएको थियो । उनको जवाफ थियो, ‘अहिले त कोहली नै हुन् । किनकि स्टिभ स्मिथ खेलेका छैनन् ।’

पोन्टिङले च्यानल सेभेनसँगको एउटा कार्यक्रममा भने, ‘अहिले स्टिभ खेलिरहेका भए मेरा लागि उनी नै नम्बर एक खेलाडी हुन्थे । अष्ट्रेलियाका कैयौँ जित तथा खासगरी एसेजमा उनले शानदार प्रदर्शन गरेका थिए । त्यसैले उनी कोहलीभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । यही कारणले पनि स्टिभप्रति मेरो ठूलो सम्मान रहेको छ ।’

विराट कोहलीको कप्तानीमा टिम इन्डियाले ५० मध्ये ३९ खेलमा जित हात पारेको छ । यस विषयमा कोहली वेष्ट इन्डिजका पूर्व कप्तान क्लाइभ लोयड तथा पोन्टिङसँगै संयुक्त रुपमा एक नम्बरमा रहेका छन् । विराट कोहलीकै नेतृत्वमा इन्डियाले लगातार ६ वटा टी–२० श्रृङ्खलामा जित हात पारेको छ ।

अर्कोतर्फ अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ बल बिगारेको आरोपमा एक वर्षको प्रतिबन्धमा रहेका छन् । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा स्मिथसँगै क्यामरन बेनक्रफ्ट तथा उपकप्तान डेभिड वार्नर पनि दोषी पाइएका थिए ।