कोहलीले भने : यो दुर्भाग्य नै हो - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कोहलीले भने : यो दुर्भाग्य नै हो



नटिङघम — लगातारको वर्षापछि विश्वकप क्रिकेटमा बिहीबार भारत र न्युजिल्यान्डको खेल पनि रद्द हुन पुगेको छ । दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ । जारी विश्वकपमा वर्षाका कारण नतिजा नआएको यो चौथो खेल हो ।

अम्पायरहरूले धेरैपल्ट ट्रेन्ट ब्रिज मैदानको निरीक्षण गरेपछि स्थानीय समय अनुसार दिनको ३ बजे खेल नहुने घोषणा गरिएको थियो ।

इंग्ल्यान्ड र वेल्समा भइरहेको प्रतियोगितामा सुख्खा माहोलमै सुरु भएको थियो । तर पछिल्ला चारमध्ये तीन खेल वर्षाका कारण अनिर्णित हुन पुगेको छ । खेल नहुँदा न्युजिल्यान्ड र भारत दुवैले आफ्नो अविजित यात्रा पनि कायम राखेका छन् । न्युजिल्यान्ड ४ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा छ । भारत ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

‘निश्चय पनि हामीले २ अंकको आस गरेका थियौं । तर चार दिन हामीले घाम देखेका थिएनौं, त्यसैले यस नतिजामा कुनै आश्चर्य छैन,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने, ‘यहाँ घाम त लाग्छ तर कुनै बेला मात्र । हामी आएको बेला लागेको छैन । इन्डोरमा अभ्यास गर्दा के चाहिने हो त्यो प्राप्त हुन्छ । खेल रद्द हुनु राम्रो होइन तर यस्तो लामो प्रतियोगितामा केही विश्राम पाउँदा पनि ठीकै हुन्छ ।’ उनले अबको खाली समयबाट आफ्नो टोलीका खेलाडीहरू फुर्तिलो भएर निस्किनु महत्त्वपूर्ण रहेको जनाए ।

भारतका कप्तान विराट कोहलीले भने, ‘मैदान खेल्नका लागि उपयुक्त थिएन । यो प्रतियोगिताको सुरुआत नै रहेकाले कोही खेलाडीले चोट नबोकोस् भन्ने हो । दुर्भाग्य भन्नुपर्छ मौसमलाई कसैले नियन्त्रण गर्न सक्दैन । हामीले पहिलो दुई खेल जितिसकेको स्थितिमा यो नतिजा खासै खराब पनि होइन ।’

वैकल्पिक दिन नराखिएकाले जारी विश्वकपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आलोचना खेप्दै आएको छ ।