विराट कोहलीले यसरी गरे धोनीको प्रशंसा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विराट कोहलीले यसरी गरे धोनीको प्रशंसा



एजेन्सी- बिहिबार भएको खेलमा भारतले वेस्ट इण्डिजलाई १२५ रनको विशाल अन्तरले पराजित गर्यो। जितसँगै जारी विश्वकपमा भारतले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

भारतको जितमा कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन जोडे भने पूर्व कप्तान महेन्द्र सिंह धोनीले अविजित ५६ रन बनाए।

भारतले वेस्ट इण्डिजलाई २६९ रनको चुनौती दियो र सो चुनौती पछ्याउन आएको टोलीलाई १४३ रन बनाउँदा अलआउट गरिदिए र जित आफ्नो पक्षमा पार्‍यो।

सो जितपछि कप्तान कोहलीले धोनीको प्रशंसा गरेका छन्।

‘धोनीलाई थाहा छ, मध्यक्रममा कसरी खेलिनुपर्छ। उनको प्रदर्शन राम्रो नभएको दिन धेरैले उनका बारेमा विभिन्न कुरा गर्छन् तर हामी सधैं उनको समर्थनमा छौ। उनले कयौं खेल जिताएका छन्। उनको बारेमा राम्रो कुरा के हो भने जब टोलीलाई १५-२० रनको आवश्यक्ता हुन्छ तब उनलाई त्यो रन कसरी बनाउने थाहा हुन्छ।उनको अनुभव १० मा ८ चोटी हाम्रो लागि राम्रो हुनेगर्छ। उनी सँधै प्रतिक्रिया दिन्छन्। आशा छ, अगाडि पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्नेछन्’, कोहलीले भने।

त्यसैगरी पछिल्ला दुई खेलमा टोलीको प्रदर्शनबाट आफू त्यति खुशी हुन नसकेको पनि कोहलीको भनाइ छ।

‘पछिल्ला दुई म्याचमा हाम्रो अपेक्षा अनुसार भएन तर पनि हामीले जित्यौं। मनस्थितिले महत्व राख्छ। असम्भव भन्ने केहि छैन। हामीलाई लाग्छ, हामी कुनै पनि परिस्थितिमा जित हासिल गर्न सक्छौं’, कोहलीले भने।