के अब कोहलीले कप्तानी छोड्लान ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

के अब कोहलीले कप्तानी छोड्लान ?



एजेन्सी– ६ खेल र ६ वटा खेल नै हार । अहिले चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको नतिजा हो यो । योसँगै बैंगलोरलाई अब प्लेअफमा ठाउँ बनाउने हो भने सबै खेल जित्नै पर्ने दबाब पनि छ । तर, यस्तो हुने सम्भावना अत्यन्त कम छ । खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि टिमका कप्तान विराट कोहलीमाथि प्रश्न पनि उठ्न थालेका छन् ।

भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले उनलाई सोधेका छन्– ६ खेल, ६ हार, कोहली के भयो यार ?

यो समयका विश्वका सबैभन्दा राम्रामध्येका एक ब्याट्सम्यान विराट कोहली आइपिएलमा कहिल्यै पनि अर्को टिममा छैनन् । उनले सुरु देखि नै बैंगलोरमा नै आफ्नो कौशल देखाएका छन् । तर, यसपटक उनले एउटा खेलमा पनि जित निकाल्न सकेका छैनन् । यो नै उनको हारको सबैभन्दा लामो सिलसिला हो ।

त्यसो त आइपिएलमा यसअघि दिल्लीले सन् २०१३ मा पनि लगातार ६ वटा खेलमा हारेको थियो । तर, बैंगलोरको यो हारले विराटमाथि धेरै प्रश्नहरु सिर्जना भएका छन् । कतिले त उनलाई कप्तानी छोड्न समेत अनुरोध गरिसकेका छन् ।

कोहलीले अहिलेसम्म आइपिएलमा १ सय वटा खेलमा कप्तानी गरिसकेका छन् । सन् २०१२ बाट नै उनले आफ्नो टिमको कप्तानी सुरु गरेका थिए । यो फरक कुरा हो, सन् २०१२ मा उनले डेनियल विटोरीको ठाउँमा केही खेलका लागि मात्र कप्तानको भूमिका निर्वाह गरेका थिए । सन् २०१३ बाट उनले कप्तानमा फुल टाइमरको भूमिका पाए ।

तर, सन् २०१५ र २०१६ पछि बैंगलोरको टिम एकपटक पनि आइपिएलको प्लेअफमा पुग्न सकेको छैन । यसअघि जस्तो प्रदर्शन गरे पनि बैंगलोरको टिमले उनलाई कप्तानबाट हटाएको छैन । तर, अब कोहली आफैंले कप्तानबाट हटेर एबी डि भिलियर्सलाई बाँकी खेलमा जिम्मेवारी दिनसक्ने सम्भावना बढेको भारतीय मिडियाहरुमा विश्लेषण छापिएको छ ।

अर्कोतिर, कोहलीको टिमको यो हारले भारतको खेलमा नै पनि समस्या हुनसक्ने अनुमान गर्न थालिएको छ । विश्व कप आउन लागेको र यसले भारतीय टिमका कप्तानसमेत रहेका कोहलीको आत्मविश्वास कमजोर बनाउन सक्ने अनुमान धेरैले गरेका छन् ।