टिम कोहली र टिम वार्नरबीच भिडन्त: को कति शक्तिशाली ? - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

टिम कोहली र टिम वार्नरबीच भिडन्त: को कति शक्तिशाली ?



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबईमा सुरु हुनेछ ।

बेंगलोर विराट कोहली र हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने छन् । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो । गतवर्ष लिग चरणको पहिलो खेलमा ओपनर जोनी बेयरस्टो र डेभिड वार्नर दुबैको शतकको सहयोगमा हैदराबादले बेंगलोरलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यी दुबै ओपनर आजको खेलमा बेंगलोरलाई घातक बन्न सक्छन् ।

गतवर्ष लिग चरणको दोस्रो खेलमा बेंगलोरले हैदराबादलाई ४ विकेटले पराजित गरेको थियो । बेंगलोरको डेथ ओभर बलिङ केहि कमजोर र स्पिन आक्रामण बलियो देखिन्छ। आइपिएलमा पहिलो उपाधि जित्ने सोचमा रहेका कोहली उत्कृष्ट सुरुवात दिलाउने सोचमा छन् । बेंगलोरमा ब्याट्सम्यानको रुपमा विराट, एबी डी भिलियर्स, पार्थिव पटेल, युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल, जोश फिलिपे, अरोन फिन्च लगाएतका खेलाडी छन् ।

अलराउन्डरमा क्रिस मोरिस, शिवम दुबे, मोइन अली, इसुरु उडाना र वासिन्टन सुन्दर छन् । तीव्र गतिका बलरमा डेल स्टेन, उमेश यादब, मोहम्मद सिराज, नवदीप सैनी लगायतका खेलाडी छन् । स्पिनरमा चहल, जाम्पा र पवन नेगी छन् । बेंगलोरले डी भिलियर्स, जाम्पा, फिन्च र अलीलाई विदेशी खेलाडीको रुपमा खलाउन सक्छ ।

बेंगलोरको ओपनिङ युवा ब्याट्सम्यान देवदत्त पाडिक्कल र अरोन फिन्चले गर्ने सम्भावना छन् । घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका पाडिक्कलबाट उच्च प्रर्दशनको आशा गरिएको छ । अष्ट्रेलियाका ओपनर फिन्च आक्रामण ब्याटिङका लागि परिचित छन् । मध्यक्रममा कोहली, डी भिलियर्स र गुरक्रित सिंहमानको सम्भावना छ । कोहली र डी भिलियर्स प्रमुख ब्याट्सम्यान हुन् । यी दुई ब्याट्सम्यानको प्रर्दशन निकै महत्वपूर्ण हुने छ

तल्लोक्रममा दुबे र अलीको सम्भावना छ । अलीले स्पिन बलिङ गर्दा दुबेले तीव्र गतिमा बलिङ गर्दछन् । पिच स्पिनर सहयोगी हुँदा बेंगलोरले दुई प्रमुख स्पिनर जाम्पा र चहल दुबैलाई खेलाउने सम्भावना छ । तीव्र गतिका बलरमा उमेश यादव, सिराज र सैनीलाई खेलाउन सक्छ ।

वार्नर, बेयरस्टो, मनिष पान्डे, रिद्धिमान शाह, केन विलियम्सन, विराट सिंह हैदराबादका ब्याट्सम्यान हुन् । मिचेल मार्श, विजय शंकर र मोहम्मद नाबी अलराउन्डर हुन् । तीव्र गतिको बलरमा भुवनेश्वर कुमार, सिद्धार्थ कौल, सन्दीप शर्मा, अभिषेक शर्मा लगाएतका खेलाडी छन् । स्पिनरमा राशिद खान र फेबिएन एलेन छन् । हैदराबादको पहिलो रोजाईको चार विदेशी खेलाडीमा वार्नर, बेयरस्टो, विलियम्सन र राशिदको सम्भावना देखिन्छ ।

हैदराबादको ओपनिङ वार्नर र बेयरस्टोले गर्ने छन् । यी दुबै ब्याट्सम्यान ठूलो इनिङको लागि परिचित छन् । गतवर्ष यी दुई जोडीले चार पटक शतकमाथि साझेदारी गरेका थिए । यी दुई ब्याट्सम्यानको प्रर्दशनले हैदराबादलाई धेरै प्रभाव पार्ने छ । मध्यक्रममा विलियम्सन, पान्डे र विराट सिंहको सम्भावना छ ।

युवा ब्याट्सम्यान विराटबाट उत्कृष्ट प्रर्दशनको अपेक्षा गरिएको छ । विजय शंकर अलराउन्डरको रुपमा खेल्ने छन् । तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, खलिल अहमद र सिद्धार्थ कौलको सम्भावना छ । स्पिनर राशिद पहिलो राजाईमा खेल्ने छन् । दुबईको पिच स्पिनर उपयोगी हुँदा केन विलियम्सनलाई बेन्चमा राखेर हैदराबादले अफगानी स्पिनर नाबी र राशिद दुबैलाई खेलाउन सक्छ ।

यी दुई टोलीबीच आइपिएलमा कुल १५ खेल भएका छन् । हैदराबाद ८ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ ।