शुभमन गिल चम्किएपछि कोलकत्ताले निकाल्यो पहिलो जित - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

शुभमन गिल चम्किएपछि कोलकत्ताले निकाल्यो पहिलो जित



एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।

नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए । रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।

कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।