कोलकत्ताको लगातार दोस्रो जित, पन्जाबले यसरी हार्यो
एजेन्सी । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले लगातार दोस्रो जित निकालेको हो ।
कोलकत्तास्थित इडेन गार्डेनमा घरेलु टोलीले दिएको २१९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । कोलकत्ताको फराकिलो स्कोरमा नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय इनिङ्स खेले ।
रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए । यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए ।
पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती,हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए ।
जितसंगै कोलकत्ताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ताले घरेलु मैदानमा भएको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो ।
रविचन्द्र आश्विनको कप्तानीमा रहेको पन्जाबको यो पहिलो हार हो । पन्जाबले २ खेलबाट २ अंक जोडेको छ । पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।