किसान श्रेष्ठले १८ सांसदको लिस्ट बोकेर माधव नेपालको घरमै पुगेपछि... - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

किसान श्रेष्ठले १८ सांसदको लिस्ट बोकेर माधव नेपालको घरमै पुगेपछि…



काठमाडौं- नेकपा (एकीकृत समाजावदी) ले मन्त्रीहरु फिर्ता बोलाएकै कारण पार्टीमा संकट देखिएको छ । उपार्टीको यही निर्णयका कारण नेकपा एस फुटको संघारमा पुगेको छ ।

बहालवाला कतिपय मन्त्रीहरूले नयाँ मन्त्रीहरु पठाउने निर्णय गरे पार्टी छाड्ने नेतृत्वलाई चूनौति दिएका छन् । उनीहरुले पार्टीले पूर्वाग्रह पालेर निर्णय गरेको भन्दै आफूहरु तत्काल सरकारबाट फिर्ता नहुने अडान लिएपछि अध्यक्ष माधव नेपालसहित शिर्ष नेताहरू संकटमा परेका छन् ।

चार जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु (मन्त्रालय हेरफेरसहित) पठाउने निर्णय पार्टीले गरेपछि स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । उनीहरुले अहिले बजेट भर्खरै आएको र त्यसमाथि उठेका प्रश्नको जवाफ पनि दिन नपाउँदै सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नु गलत हुने भन्दै तत्काल मन्त्रीहरु हेरफेर नगर्न आग्रह गरेको बुझिएको छ।

श्रममन्त्री श्रेष्ठले त पार्टीमा आफूहरु १८ जना सांसद एकमत रहेको पनि दाबी गरे । उनले माधव नेपालको निवासमै पुगेर आफूहरुलाई हटाएर देखाउन चेतावनी पनि दिएको चर्चा छ । २४ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) मा १८ जना मन्त्रीहरुको पक्षमा रहेको दाबी गर्दै उनले चेतावनी दिएपछि पार्टी आफ्नै निर्णयबाट ब्याक हुने अवस्था आएको छ ।

पार्टीले भने अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिश गरेको छ । अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भन्दै सोहीअनुसार प्रधानमन्त्री देउवालाई सिफारिश गरेको छ ।