कीर्तिमान नै कीर्तिमानको खेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

कीर्तिमान नै कीर्तिमानको खेल



काठमाडौं । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले सबैभन्दा कमजोर मानिएको टिम अफगानिस्तानलाई जितका लागि ३९८ रनको विशाल चुनौती दिएको छ ।

मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३९७ रन बनायो ।

कप्तान ओइन मोर्गानले कीर्तिमानसहित ७१ बलमा १४८ रन बनाएपछि इंग्ल्यान्डले विशाल योगफल खडा गरेको हो ।

उनले केबल ५७ बलमा शतक बनाएर जारी प्रतियोगितामा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाए । विश्वकपको कीर्तिमान भने आयरल्यान्डका खेलाडी केभिन ओ’ब्राइनको नाममा ५० बलमै शतक रहेको छ ।

त्यसैगरी, मोर्गानले एकै खेलमा सबैभन्दा बढी छक्का हान्ने कीर्तिमानसमेत बनाए । सोक्रममा उनले १७ छक्का हानेका हुन् ।

यसअघि, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेल र दक्षिण अफ्रिकाका एबीडे भिलियर्सका नाममा १६ छक्काको कीर्तिमान थियो ।

इंग्ल्यान्डको इनिङ्समा जोनी बेयरस्ट्रको ९० तथा जो रुटको ८८ रन पनि महत्वपूर्ण रह्यो ।

अफगानिस्तानका दलत जद्रान र गुल्बदिन नइबले ३/३ विकेट लिए ।

यो खेल जितेमा इंग्ल्यान्ड पाँच खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुग्नेछ । अफगानिस्तानले खेल जितेमा अंकको खाता खोल्नेछ ।

१० टिम सहभागी प्रतियोगिताको लिग चरण्मामा पाँच खेलबाट ८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा कायमै छ । चार खेलबाट ७ अंकका न्यूजिल्यान्ड र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानको इंग्ल्यान्डको ६ अंक छ भने अंकविहीन अफगानिस्तान पुछारमा छ ।