स्याङ्जाका स्थानीय किराना पसले थिए मृतक: गाउँमा त्रास
स्याङ्जा- पोखरामा मृत्यु भएका स्याङ्जा अर्जुनचौपीरीका एक पुरुष स्थानीय किराना पसले भएको खुलेको छ । कोरोनाका कारण गएराति पोखरामा उनको निधन भएको थियो । मृत्यु भएका ५५ वर्षीय व्यक्ति स्याङ्जाको सिरुबारीमा किराना पसल गरेर बसेका थिए ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारीका अनुसार मृतक पुरुषको कुनै ‘ट्राभल हिस्ट्री’ नै छैन ।
उनका अनुसार मृतकको घर अर्जुनचौपारी हो, उनको पसल भने आँधिखोला १ पञ्चमुलमा थियो ।
उनलाई उच्च ज्वरो आएका कारण उपचारका लागि पोखरा गएका थिए । त्यहाँ चेक गर्दा कोरोना देखिएको बताइएको छ । अहिलेसम्म उनको सम्पर्कमा को को आए, कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लागिसकेको छैन ।
उनको किराना पसल पनि भएकाले तरकारी ल्याउने गाडीमा आउनेहरुसँग सम्पर्क थियो कि भन्ने पनि आशंका गरिएको छ । पसल र घर छुट्टाछुट्टै ठाउँमा भएकाले पनि उनको सम्पर्कमा को को आए पत्ता लगाउन मुस्किल परेको बताइएको छ ।
अहिले उनका छिमेकि र पसल भएको स्थानका छिमेकीहरूमा त्रास बढेको छ। पसल संचालन गरेर बसेकाले उनीसंग कति मानिस आए गए त्यसको लेखाजोखा छैन ।
एक स्थानीयका अनुसार उनलाई कोरोना पुष्टि भएपछि गाउँलेहरू निकै त्रसित बनेका छन् ।