किन सकेनन ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

किन सकेनन ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न ?



काठमाडौं। प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन् ।

एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए । त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री ओली सकभर उपेन्द्र्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन् । त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन् ।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन् ।

सरकार विस्तारमा उपेन्द्रको पार्टीको निर्णयसमेत ओली अहिले पर्खेर बसेका छन् । यादवले सकारात्मक प्रतिक्रिया दिए मन्त्रिपरिषद्को संख्या केही तल–माथि गरेरै भए पनि सरकारमा ल्याउने तयारीमा ओली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

केन्द्रमा २५ वटासम्म मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ तर सरकारले नै बनाएको प्रशासनिक सुधार आयोगका अध्यक्ष काशीराज दाहालको कार्यदलले १५ र सामान्य प्रशासन मन्त्रालयले १८ वटासम्म मन्त्रालय बनाउन सकिने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री ओली र दाहालबीच १९ सदस्यीय मन्त्रिमण्डल बनाउने विषयमा करिब–करिब समझदारी जुटेको छ। ओली–दाहालबीच बुधबार बालुवाटारमा भएको वार्तामा पनि मन्त्रालय संख्या र भागबन्डाका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। त्यसलगत्तै दुवै नेताले राष्ट्रपतिसँग पनि संवाद गरेका थिए ।