काठमाडौं प्रवेश गर्ने जनतालाई नागढुंगा र साँगामा किन यतिधेरै दुख दिइन्छ ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

काठमाडौं प्रवेश गर्ने जनतालाई नागढुंगा र साँगामा किन यतिधेरै दुख दिइन्छ ?



काठमाडौं- साँझको ६ बजेको छ, काठमाडौं र धादिङको सीमा सिस्नेखोलामा गाडीको जाम छ, मोटरसाइकलमा आएका यात्रु निथु्रक्क भिजेका छन् ।

गन्तव्य काठमाडौं त नजिक आइपुग्यो, प्रहरीको व्यवहार कस्तो हुने भन्नेमा यात्रुहरूको मनमा आशंका छ ।

विनोद चौहान, शम्भु बैठा पर्साको पोखरियाबाट आएका हुन् । रोकिएको मोटरसाइकलनजिक आएर प्रहरीले सोधे, ‘पास छ?’

‘पास छ सर, कोरोना टेस्ट गरेको रिपोर्ट पनि छ,’ विनोदले जवाफ फर्काए । पोखरिया नगरपालिकाले जारी गरेको सवारी पास हेरेपछि प्रहरीले तत्कालै आदेश सुनाए, ‘जताबाट आएको हो उतै जानू।’

अलमल्ल परेका उनीहरूलाई तर्साउँदै प्रहरीले भने, ‘भनेको सुनिएन, जताबाट आएको हो उतै जाने । काठमाडौं जान पाइँदैन।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ललितपुरको हात्तीवनमा निर्माण मजदुरको काम गर्ने विनोद र शम्भु घरमा खर्च सकिएपछि रोजगारी जारी राख्न राजधानी आउने प्रयासमा थिए । तर, सार्वजनिक यातायात नचलेकाले उनीहरू छिमेकीको मोटरसाइकल मागेर आउँदै थिए ।

काठमाडौं नाकामा कोरोनाको रिपोर्ट देखाउनुपर्छ भनेर उनीहरूले वीरगन्ज हेल्थ केयर हस्पिटलमा आरडिटी परीक्षण पनि गराए । यसमा १५ सयका दरले पैसा खर्च भयो । रिपोर्ट नेगेटिभ आएकाले काठमाडौं छिर्न पाइन्छ भन्ने उनीहरूको आशा थियो । तर, अस्पतालको स्वास्थ्य रिपोर्ट र नगरपालिकाको पास प्रहरीले तत्कालै खारेज गरिदिए ।

‘जब आरडिटी परीक्षण अर्थहीन छ भने सरकारले त्यस्तो परीक्षण गर्ने अनुमति स्वास्थ्य संस्थालाई किन दिइरहेको छ? देशको ढुकुटी खरिद गरेर सरकारले आरडिटी किन खरिद गरिरहेको छ?’ विनोद सोध्ने कोसिस गर्छन्, तर प्रहरीसँग जवाफ छैन, उनको मुखमा आदेश मात्र झुन्डिएको छ, ‘रिपोर्ट त पिसिआर नै चाहिन्छ।’

विनोद र शम्भु दुवैजनाको खुट्टामा चप्पल मात्र छ । ‘जुत्ता किन्ने पैसाले कोरोना जाँच गराएको,’ शम्भुले भने, ‘घरमा छाक टार्न पनि पैसा छैन । पाँचजनाको परिवार छ । परिवारमा कमाउने म एक्लै हो । काठमाडौंमा काम सुरु भएको खबर पाएकोले आएको हुँ, अरू जान हुने, हामी जान नहुने किन?’

विनोद र शम्भुजस्तै अरू सर्वसाधारण पनि रोकिएका छन्, उनीहरू सबै अलमल परेर सिस्नेखोलाको छेउमा उभिएका छन् । लगातार परेको पानीले माटो पग्लिएको छ, तर निमुखाको अवस्थाले प्रहरीको मन पग्लिएको छैन ।

पर्साको वीरगन्जबाट आएका हुन् विलाल अन्सारी । मोटरसाइकलमा आएका उनीसँग रेनकोट पनि छैन् । झरीले होइन, उनको मनोबल प्रहरीको आदेशले कमजोर बनाइदिएको छ ।

विलालको यो पहिलो प्रयास होइन । काभ्रेको भकुन्डेबेंसीमा मोटरसाइकल ग्यारेजमा काम गर्ने उनी अघिल्लोपटक बिपी राजमार्गबाट आएका थिए । ‘तर, त्यहाँ (नमोबुद्ध नगरपालिका)को मेयरले कोरोना जाँच गरेको रिपोर्ट नल्याएसम्म बस्न दिन्न भन्नुभयो, त्यसैले फर्किएँ,’ विलालले भने ।

वीरगन्ज गएर उनले पनि १५ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण गराए । परीक्षणको रिपोर्ट र नगरपालिकाले जारी गरेको पास बोकेर आएका थिए । तर, सिस्नेखोलामा उनलाई पनि प्रहरीले रोके।

काठमाडौं आउनेको यो भिडमा अधिकांश उपचार गराउन आउने छन् । अरू कतिपय टुटेको रोजगारी जोड्न आउने छन् । कपितय भने आफुले गरिरहेको व्यवसाय फेरि सञ्चालन गर्न उद्देश्यले फर्किएका छन् ।

फरक–फरक उद्देश्यले आएका सबैको नियति एउटै छ काठमाडौं नाकामा । तर, माथिको आदेश भन्दै सबैलाई प्रहरीले रोकेर दुःख दिएपछि हामीले थानकोटको इन्चार्जका रूपमा खटिएका डिएसपी घनश्याम श्रेष्ठलाई केही जिज्ञासा राख्ने प्रयास ग¥यौँ ।

‘अहिले जिल्लाभित्रको आन्तरिक सवारी मात्र खुलेको हो । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र सवारीसाधन छिर्न दिने सरकारको नीति छ,’ उनले भने, ‘स्थानीय तहको पास बोकेका मान्छेलाई हामीले फर्काइरहेका छौँ । त्यस्तै, अस्पतालको पिसिआर रिपोर्ट मात्र पनि पुग्दैन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनिवार्य छ ।’