किन डाकियो मन्त्रिपरिषद आकस्मिक बैठक ? -यसो भन्छ बालुवाटार स्रोत - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

किन डाकियो मन्त्रिपरिषद आकस्मिक बैठक ? -यसो भन्छ बालुवाटार स्रोत



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अबेर राति मन्त्रीहरूलाई आकस्मिक सर्कुलर गरे । त्यो सर्कुलर थियो आइतबार दिउसो १२ बजे बस्ने मन्त्रिपरिषद बैठकको । तर सर्कुलरमा बैठकका एजेन्डा र बिषय भने बताइएको छैन ।

मन्त्रिपरिषदको बैठक बस्न १ दिन मात्र बाँकि हुँदा मध्यरातमा सर्कुलर गरेर आकस्मिक बैठक बोलाइएपछि नेकपावृत्तमा खैलाबैला नै भयो । नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि ओलीले आज आइतबार मध्यान्ह १२ बजे आफ्नै निवास बालुवाटारमा बैठक डाकेका छन्।

शनिबार राति बालुवाटारमा प्रधानमन्त्री ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबीच अबेर रातिसम्म छलफल भएको र त्यहि छलफल पश्चात बैठकको लागि सर्कुलर गरिएको बालुवाटार स्रोतले बतायो । स्रोतका अनुसार ओली र पोखरेलबीच बालुवाटारमा लामो छलफल भएको थियो।

छलफललगत्तै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउने निर्णय भएको स्रोतको दाबी छ । बैठकमा कुन–कुन एजेण्डामा छलफल गर्ने भन्ने विषयमा कुनै मन्त्रीलाई जानकारी दिइएको छैन।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा बिहीबार र शुक्रबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो छलफल भएको थियो। शनिवार दुई अध्यक्ष भेट गर्ने भनिए पनि अन्तिममा स्थगित गरेका थिए।

यसअघि बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुझावसमेत दिएको थियो । त्यसैका आधारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी चलिरहेको छ। पुनर्गठनको चर्चासँगै ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा लिएइको छ।