किन आवश्यक छ एकीकृत जनक्रान्ति ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

किन आवश्यक छ एकीकृत जनक्रान्ति ?



-डायमण्ड म्याग्देली

हुन त एक थरी समूह(मुख्यतः दलाल पुँजीवादी संसदीय व्यवस्था का पुराना तथा नयाँ हिमायतिहरु ) यति बेला क्रान्तिको क-सम्म उच्चारण गर्न रुचाउँदैनन् ।  ती समूहहरूको भनाइमा नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो । अव अर्को क्रान्तिको आवश्यकता र सम्भावना छैन।  त्यसैले आर्थिक क्रान्ति मार्फत विकाश र समृद्धिको बाटोमा अगाडी बढ्नुपर्छ। यस्तो तर्क गर्नेहरूमा २०५२ सालमा जनयुद्ध सुरु गर्दा विश्वभरि नै असफलसिद्द भैसकेको संसदीय व्यवस्थाको पूर्ण रूपमा अन्त्य गर्दै जनवादी व्यवस्था निर्माण गर्ने कसम खाएर वीरतापूर्ण सङ्घर्षमा हाम फालेका तर जनयुद्धले अघि सारेका कुनै पनि एजेन्डा पुरा नहुँदै जनयुद्ध र जनताको सपनामाथि महा गद्दारी गर्दै त्यै पुरानै प्रतिक्रियावादी राज्यसत्ताको जुठो-पुरो चाट्न त्यतै मिसिन पुगेका प्रचण्ड-बादलहरू पहिलो पङ्क्तिमा छन् ।

त्यस्तै बाबुराम भट्टराई.केपी ओली र अन्य समूहहरू पनि अव क्रान्ति आवश्यक छैन भन्ने कित्तामा क्रमशः: पंक्तिवद्द छन्।  सामान्यतया यै पुँजीवादी संसदीय कित्तामा उभिएका यो व्यवस्थाका हिमायति केही मुट्ठीभर मान्छेहरूले यसो भन्नुलाई अन्यथा मान्नु हुँदैन,बरु मुख्य गरी क्रान्तिकारी शक्ति र जनताको अभिमत के छ भन्ने विषयले खास अर्थ राख्छ । 

देशमा अर्को क्रान्तिको आवश्यकता छ कि छैन भन्ने सतही तर्क गर्नु भन्दा अघि नेपाली क्रान्तिको गौरवपूर्ण इतिहास बोकेको महान् जनयुद्ध,त्यसले उठाएका एजेण्डाहरु र स्थापित गरेका मूल्य मान्यताहरूको समीक्षा र स्मरण गर्नु आवश्यक छ । यसमा पनि मुलत २०२८ सालमा झापा विद्रोह को नाममा ८/१० जनाको घाँटी रेटेर त्यति बेला क्रान्तिकारी कहलिएका र अहिले त्यसैको आडमा व्याज खाइरहेका केपी ओली समूहलाई त खास केही भन्नु छैन किनकि उनको जनयुद्ध सँग कुनै साइनो/सम्बन्ध थिएन ।  न त कुनै सद्भभाव र नैतिक समर्थन रह्यो बरु विगतकाल भर जनयुद्धको कट्टर रूपमा विरोध, षड्यन्त्र र बदनाम गर्नमै मुख्य भूमिका रह्यो ।   तर जनयुद्धमा प्रमुख भूमिकामा रहेका प्रचण्ड-बाबुराम-बादल समूहलाई भने समीक्षाको पाटोमा छुटाउनै हुँदैन । तिनले नेपाली क्रान्ति प्रति गरेको महा गद्दारीको विरुद्ध हजारौँ पटक लेख्नुपर्छ,बोल्नुपर्छ र आम नागरिकलाई सुसूचित गरिरहनुपर्छ किनकि यो भनेको अन्धो नागरिकहरूको बस्तीमा ऎना बेचेर आफैलाई महान् क्रान्तिकारी घोषणा गर्ने । अझै जनताको नेता ठान्ने निकृष्ट कपटीहरूको जमात हो।  यो जमात ले अझैपनी सत्ता,शक्ति र अन्य सबै विकल्पको प्रयोग गरेर आफ्नो चौतर्फी नांगिएको चरित् लाई ढाकछोप गर्न भ्रम र षड्यन्त्रका अनेक प्रपञ्च हरू रच्न सक्छ ।

त्यसो त आजकल प्रचण्ड-बाबुराम-बादलहरूले जनयुद्धको आधारभूत राजनीतिक उद्देश्य पुरा भइसक्यो। अव आर्थिक क्रान्ति मार्फत विकाश र समृद्धिको बाटोमा अगाडी बढ्नुपर्छ भनेर जसरी बारम्बार भनिरहेका छन् यसले माथि उल्लिखित विषयहरूलाई थप पुष्टि गर्न सहयोग गर्छ । जनयुद्धको उद्देश्य के थियो र आज के भइरहेको छ भन्ने कुरा इतिहासमा लिपिबद्ध भैसकेको छ त्यसैले प्रचण्ड,बाबुराम,बादलहरूको अहिलेको यात्रा र बोलेका कुरा आज पनि सही र सान्दर्भिक छ भनेर आत्म रति लिनु र भ्रम सिर्जना गर्नुको कुनै तुक छैन।

तिनका सीमित बफादार चेला/भक्तजनहरूले नुनको सोझोको लागी देखावटी रूपमा ताली पिट्नु अन्यथा हैन तर आम मान्छेमा तिनीहरू प्रति रहेको भ्रमको राम्रो सँग चिरफार हुँदै गएको छ।  झट्ट हेर्दा गणतन्त्र पनि आएको। नयाँ संविधान पनि घोषणा भएको त्यही अनुसार देश सङ्घीयतामा गएको जस्तो देखिन्छ। त्यै देखाएर जनतालाई जनयुद्धको आधारभूत उद्देश्य पुरा भयो भन्ने भ्रम पार्न खोजिएको छ ।  त्यसैले यसको व्यवस्थित भण्डाफोर र चिरफार गरिरहनुपर्छ। 

जनयुद्धको उद्देश्य सामन्तवादको अन्त्य गर्नु थियो तर त्यसको सत्तामा हजारौँ नवसामन्तहरु,राजा/रजौताहरू जन्माउनु थिएन ।  जनवादी गणतन्त्र स्थापना गर्नु थियो,बुर्जुवा पुजिँवादी विहारी गणतन्त्रको परिकल्पना थिएन । जहाँ जनयुद्ध,गणतन्त्र र अग्रगामी राजनीतिक परिवर्तनका कट्टर विरोधीहरू विराजमान छन् र तिनै लाई राजा/महाराजाहरूलाई जस्तै मान/सम्मान गर्नु पर्ने अवस्था छ । तिनले देश र जनताको हितअनुकुल काम गर्ने कुराको कुनै कल्पना छैन बरु आफ्नो सेवा/सुविधा र अधिकारको दायरालाई फराकिलो पार्दै छन् भने जनताको अधिकार र स्वतन्त्रता लाई खुम्च्याउँदै छन्  ।  राजा/महाराजाहरुको जस्तै भड्किलो र खर्चिलो जीवनशैली,हाउभाउ,तडकभडक सहित धर्म,परम्परा र संस्कृतिको नाममा जनतालाई दास र रैतीको व्यवहार गर्ने निन्दनीय संस्कारको सुरुवात गरिएको छ । यस्तो व्यवस्थालाई जनताले कसरी स्वीकार गर्ने ? राज्य सत्ताको आमूल परिवर्तनको लक्ष्य राखेर जनयुद्धमा होमिएका पात्रहरू घुमिफिरी फेरी त्यै जनविरोधी संसदीय व्यवस्थाको फोहोरी रसातालमा डुबुल्की मार्न पुग्नु लाई कस्तो क्रान्ति मान्ने ?

वर्गीय,जातीय,लिंगिय,क्षेत्रीय लगायत सवै खाले शोषण उत्पीडन र विभेदको अन्त्य गर्दै पिछडिएका जाती,वर्ग समुदाय,लिङ्ग र क्षेत्रलाई राज्यको मूल धारमा ल्याई स्वायत्तता विशेष अधिकार,समावेशी र समानुपातिक प्रतिनिधित्व सहित समतामूलक सुन्दर राज्य निर्माण गर्ने अवधारणा जनयुद्धले अघि सारेको थियो तर आज त्यै अवधारणाको दुरुपयोग गर्दै आफ्ना छोरी,बुहारी,ज्वाई,भाइ,भतिज,साला,शाली लगायत आफन्त,नातागोता आफ्ना भजन मण्डली समूहका मान्छेहरूलाई सांसद,मन्त्री,मेयर जस्ता जिम्मेवारीमा नियुक्त गर्नु तथा विभिन्न निकायमा/ लाभका पदहरूमा भर्ती गर्ने कुरालाई पनि क्रान्ति कै अंश मान्ने कि ?प्रचण्ड-बादलहरूको आजको क्रियाकलाप जीवनशैली/लवाई खवाई विभिन्न विवादित व्यक्तिहरूसँगको उठबस प्रति हिजो जनयुद्ध लडेका ईमान्दार सिपाहीहरूले प्रश्न गर्दा तिनका आसेपासेहरू निकै उत्तेजित हुन्छन् यसो हुनु आवश्यक छैन र तिनका हरेक गतिविधिलाई व्यक्तिगत स्वतन्त्रता र निजी जीवनको मामला भनेर ढाकछोप/बचाउ गर्न आवश्यक छैन ।

जस्तो प्रचण्ड आफ्नो श्रीमतीको स्वास्थ्य लाभको लागी भारतीय जोगी रामदेव/वालकृष्ण आचार्यको शरणमा पुग्नु विभिन्न मठ-मन्दिरको दर्शन गर्नु । कलश बाल्नु ,कहिले आफ्नै ग्रह शान्तिको लागी भैँसी पूजा गर्न पुग्नु आदीलाई निजी जीवनको पाटो हो यति गर्न किन नपाउने भन्नु शोभनिय लाग्दैन । हो एउटा सामान्य मान्छे ले यसो गर्नु उसको निजी अधिकारको कुरा होला तर प्रचण्ड यस्ता पात्र हुन जसले गर्ने हरेक गतिविधि जनयुद्ध सँग जोडिन्छ र प्रश्न उठ्छ ।

हिजो कम्युनिस्टको कुनै जात,धर्म,निजी सम्पत्ति,निजी जीवन र स्वार्थ हुँदैन भनेर प्रशिक्षित गर्दै हजारौँलाई जनयुद्धमा बेहोर्ने,धर्म अफिम हो भन्ने । धर्मको नाममा विभेद र शोषण गरेको अभियोगमा पं. नारायण पोख्रेलको घाँटी रेटेर हत्या गर्न आदेश दिने आज आफू मठ-मन्दिर धाउने ! तिर्थ-व्रत गर्ने ? सामूहिक सुन्दर जीवनको सपना वाधेंर हजारौँ लाई जनयुद्धमा बेहोर्ने र आज तिनलाई घर न घाट बनाएर तिनको निजी जीवन पुरै उजाड पारिदिने अनि आफू चाहिँ अनेकन् सुविधासहित विलासीपुर्ण निजी जीवनमा फर्कने ?यस्ता तमाम विषयहरूलाई पनि उनको निजी जीवनको पाटो भनेर मुकदर्शक बनिरहने कि……?

यसरी जनयुद्धको मूल्य-मान्यता,उद्देश्य वाट पुरै स्खलित र पतित भएर पुरानै व्यवस्था र संस्कार मा फर्किएका महा गद्दारहरू र झापा विद्रोहवाट भागेका समूह बिच यति बेला केन्द्रीय तहमा पार्टी एकता भैसकेको छ र गत वर्ष सम्पन्न चुनावमा जनतालाई अनेक थरी झुटा आश्वासन वाडेंर प्राप्त बहुमत र फोरम सँग सहकार्य पछि २/३ तिहाइको उनीहरूकै भाषामा शक्तिशाली र स्थिर सरकार ओली नेतृत्वमा गठन भएर देश चलाउने जिम्मा लिएको छ । तर अझै आफूलाई कम्युनिस्ट/वामपन्थी भन्न रुचाउनेहरूको नेतृत्वमा बनेको सरकारले जनताका अति न्यूनतम समस्याहरू पनि सम्बोधन गर्न सकेको छैन । जनतालाई राहत दिने कुरा त परै जावस उल्टो ठाउँ-ठाउँमा चर्को कर असुलेर ढाड सेकिरहेको छ।  दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। हरेक क्षेत्रमा कालोवजारिया/विचौलिया हरूको बिगबिगी छ। भ्रष्टाचार,कमिसन,अनियमितता त्यति नै मौलाएको छ तर त्यतातिर सरकारको ध्यान पुग्दैन । बलात्कारी,हत्यारालाई कारबाही गर्नुको साटो  पुरै शक्ति लगाएर संरक्षण गर्नतिर लाग्छ। पछिल्लो समय निर्मला पन्तको बलात्कार र हत्या प्रकरण पछि विकसित घटनाक्रमले  पुष्टि गर्छ ।

२/३ को बलियो सरकारले बलात्कारी हत्यारालाई कारबाही गर्न सक्दैन। विचौलिया,कालोबजारी नियन्त्रण गर्न सक्दैन। महाभ्रष्ट लोकमानसिंह कार्की,चूडामणि शर्मा,गोपाल खड्काहरूलाई कठघरामा उभ्याउन सक्दैन। वाइडवडी खरिदमा मन्त्री रविन्द्र अधिकारीको संलग्नतामा साढे ६ अर्ब भन्दा बढी अनियमितता भएको कुरा सार्वजनिक भैरहदा पनि त्यसको छानबिन गर्न चासो दिनदिनै। ४ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने मुख्य नाइकेलाई पक्रन सक्दैन। नेपाली सेना भित्र भएको भनिएको ठुलो भ्रष्टाचार बारे चुँ सम्म गर्न सक्दैन भने यो सरकार र सिङ्गो व्यवस्थाको विकल्प किन नखोज्ने ?

यी सत्ता र शक्तिमा रहेकाहरू त्यसको दुरुपयोग गर्दै पाइला/पाइलामा चुकेका छन् ।  नैतिक रूपले पूर्ण पतित भैसकेका छन्।  दलाल,भ्रष्ट, विचौलिया,माफियाहरूसँग यिनीहरूको नाजायज सम्बन्ध छ त्यसैले कसैप्रति एक्सन लिन सक्ने नैतिक बल यो सरकार र संसदीय पार्टीका कुनै पनि नेताहरूमा छैन भन्ने प्रस्ट हुन्छ ।

अन्तमा माथि उल्लिखित विषयहरूलाई सम्बोधन गर्दै देश र आम नागरिकलाई स्वाधीन,सबल,सक्षम,स्वतन्त्र र समृद्ध बनाउनको निमित्त मुख्य बाधक यो दलाल पुजिँवादी संसदीय व्यवस्था नै हो । विगतका नेतृत्वको गद्दारीका कारण अबको क्रान्ति र नेतृत्व बारे केही आशङ्काहरू पनि जीवितै छन् ।  तथापि आज सम्मको राजनीतिक करियरमा निष्कलङ्क छविका साथ देश र जनताको मुक्तिको निमित्त समर्पित व्यक्ति कमरेड विप्लवको साहसिक र कुशल नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको समाजवादी सत्ता निर्माण गर्ने महाअभियानमा सरिक वनौ । जनताको न्यायपूर्ण क्रान्तिको जित सुनिश्चित छ ।