एक्कासी किम जोङ उन चीनमा ! - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एक्कासी किम जोङ उन चीनमा !



एजेन्सी । उत्तर कोरियाली वरिष्ठ पदाधिकारीलाई लिएर एउटा रेल चीन पुगेको छ । जापानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ती वरिष्ठ अधिकारी अरु कोही नभएर उत्तर कोरियाली नेता किम जोङ उन हुन् । चीन उत्तर कोरियाको एक मात्र मित्र राष्ट्र हो जसले पश्चिमा राष्ट्रहरुले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइरहँदा पनि उत्तर कोरियाको साथ दिँदै आएको छ ।

तर पछिल्लो समय उत्तर कोरियाले आफ्नो महत्वाकांक्षी परमाणु कार्यक्रम नरोकेपछि चीन पनि उसँग रुष्ट भएको छ । सात वर्षअघि उत्तर कोरियाको सत्ता सम्हालेयता किम जोङ उन देश बाहिर निस्किएका छैनन् । चीन पुगेको उक्त ट्रेनमा किमनै थिए भन्नेबारेमा उत्तर कोरिया र चीन दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् । दुबै देशका संचारमाध्यममा समेत यसबारेमा कुनै टिकाटिप्पणी आएका छैनन् ।

तर यदि किम चीन पुगेका हुन भने यसलाई महत्वपूर्ण कूटनीतिक प्रगती मान्न सकिने विश्लेषकहरु बताउँछन् । टोक्योस्थित निपोन न्यूज नेटवर्कले हरियो डिब्बामा पहेँलो धर्सा भएको उक्त ट्रेनको तस्बिर सार्वजनिक गर्दै त्यसमा पक्कैपनि किम नै रहेको बताएको थियो । च्यानलका अनुसार किम जोङ उनका पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इल पनि यस्तै ट्रेन मार्फत चीन यात्रामा निस्किएका थिए ।

बेइजिङ रेलवे स्टेसन बाहिर एक पसलका म्यानेजरले पनि सोमबार बेलुका एउटा अनौठो दृश्य देखे । ‘बाहिर सडकमा र स्टेशन नजिक धेरै संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । स्टेसन भित्रबाट बन्द गरिएको थियो ।’ उनले भने । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको पर्यटकीय क्षेत्र तियानमिन स्क्वायरबाट पनि पर्यटकहरुलाई हटाइएको छ ।