जयशङ्कर विदेशमन्त्री बनेपछि मधेस केन्द्रित दलमा खुसीयाली - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

जयशङ्कर विदेशमन्त्री बनेपछि मधेस केन्द्रित दलमा खुसीयाली



काठमाडौं – छिमेकी भारतमा आफ्नो एजेण्डालाई समर्थन गर्ने पूर्वसचिव एस जयशंकर विदेशमन्त्री नियुक्त भएकामा मधेस केन्द्रित दलमा खुसीयाली छाएको छ ।

भाजपाबाट निवौचित सांसद जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले हालै शक्तिशाली विदेशमन्त्री नियुक्त गरेका छन् । जयशंकर उनै हुन्, जो नेपालमा संविधान जारी नगर्न दबाब दिन अन्तिम समयमा काठमाण्डु आएका थिए । २०७२ साल असोज ३ मा नेपालमा संविधानसभाबाट संविधान जारी हुँदै थियो । तत्कालीन भारतीय विदेश सचिव जयशंकर ३० चैतमा नेपाल आएर संविधान रोक्ने कोसिस गरेका थिए ।

त्यस क्रममा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई भेटेर संविधान जारी नगर्न दबाब दिएका थिए ।

आफूहरुको सहमतिबिना संविधान जारी गरिए मधेसले अस्वीकार गर्ने र त्यसबाट उत्पन्न परिणाम राम्रो नहुने चेतावनी पनि दिएका थिए । यद्यपि संविधान जारी भयो । तर, संविधान जारी भएपछि भने जयशंकरले भनेजस्तै भर्खरै बिनासकारी भूकम्पबाट तङ्ग्रिँदै गरेको नेपालमाथि भारतले अमानवीय नाकाबन्दी लगायो । संविधान जलाएर आन्दोलनमा उत्रिएका मधेसवादी दलले नाकाबन्दीको समर्थन गरे ।

आफ्नो एजेण्डा स्थापित गराउन महत्वपूर्ण योगदान गरेका जयशंकर विदेशमन्त्री भएपछि मधेसवादी दलको मनोबल बढेको राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले बताए । ‘हुन त यो भारतको आफ्नै मामला हो’,ती नेताले भने, ‘तर, हामीमाथि सदभाव राख्ने र हाम्रो एजेण्डा स्थापित गर्न पहल गर्ने व्यक्ति विदेशमन्त्री भएकामा हाम्रा लागि आगामी दिनमा नेपाली राजनीतिका केही सहज हुन्छ भन्ने विश्वास लागेको छ ।’