नेकपा विवाद नयाँ मोडमा: खुमलटारमा 'सेफ ल्यान्डिङ' बारे छलफल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेकपा विवाद नयाँ मोडमा: खुमलटारमा ‘सेफ ल्यान्डिङ’ बारे छलफल



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफ्ना निकटका सबै नेताहरूलाई खुमलटार बोलाएर गतिरोध अन्त्यका लागि छलफल गरेका छन् ।

प्रचण्डले नेताहरूलाई पार्टी एकताको पक्षमा दृढताका साथ उभिन आग्रह गरेका छन् । पूर्वमाअ‍ोवादी समूहका नेताहरु फरकफरक गुटमा लाग्न थालेपछि सोमबार बिहान नेताहरुलाई खुमलटारमा बोलाएर अध्यक्ष प्रचण्डले एकताबद्ध हुन आह्वान गरेका हुन् ।

उनले आफू निकट स्थायी कमिटी सदस्यहरुलाई पार्टीभित्रको समस्या हल हुँदै गएको र बाहिर देखिएजस्तो विवाद नरहेको स्पष्ट पारेका थिए । अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक लडाईं आवश्यक रहेकाले केही जटिलता देखिएको स्वीकार गरेका थिए ।

भेटमा नेताहरूले प्रचण्डलाई पार्टीलाई बलियो बनाउन अर्का अध्यक्ष ओलीसंग निरन्तर छलफल गर्न सुझाव दिएका थिए । ‘जनताले अहिले फुट चाहेका छैनन्। उहाँसँग संघर्ष, एकता, झगडा जे गरे पनि मिलाउनुस् भनेर हामीले भनेका छौं,’ छलफलमा सहभागी एक स्थायी समिति सदस्यले भने,’पदको निम्तिमात्रै झगडा भएको भन्ने नपारी बहसलाई वैचारिक विषय र देश तथा जनजिविकाका मुद्दातिर केन्द्रीत गर्नसमेत हामीले भनेका छौं।’

महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए। शनिबार साँझ राष्ट्रपतिसँग भएको भेट पूर्वनिर्धारित नभई अपर्झट भएकोसमेत प्रचण्डले स्पष्टिकरण दिएका थिए।

गणितको प्रयोग नगरी अहिलेको विवाद ‘सेफ ल्यान्डिङ’ गर्न सुझाव दिएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।

‘गणित प्रयोग गरे दुःखद घटना हुनसक्छ, त्यसैले संयमतापूर्वक अगाडि बढ्नुपर्छ भनेर हामीले भनेका छौं,’ उनले भने,’अरूलाई पनि छोड्ने गरी निर्णय गर्नु हुँदैन तर निर्णय गर्ने बेलामा त दुई अध्यक्ष एउटै धारणामा नपुगी त हुन्न।’

कोभिड-१९ र बाढी-पहिरोमा पनि ध्यान दिने र जनतामा राहतको कार्यक्रम लैजाने विषयमा समेत बैठक केन्द्रित हुनुपर्ने धारणा पनि केही नेताहरूले राखेको उनले बताए।

यस्तै नेताहरूले मंसिरमा महाधिवेशन गर्न समय नपुग्ने समेत बताएका थिए । ‘एउटा स्थायी समिति बैठक त टुंगो लाग्न सकेको छैन। महाधिवेशन कसरी सकिन्छ भन्ने आम बुझाइ हो,’ एक नेताले भने,’महाधिवशेनमा नेतृत्व कसरी चयन गर्ने, त्यसको विधि कसरी निर्माण गर्ने भन्ने बाँकी नै छ। एकता प्रक्रिया टुंगिएको छैन। बाढी पहिरो कोरोना यावत् समस्याका बीचमा सम्भव छैन भन्ने नै हो।’

‘बैठकमा धेरै कुराहरू उठ्छन्। त्यहाँ बोलेको आधारमा आग्रह बोकेर बस्नु हुँदैन। त्यहाँ बसेर पार्टी फुटाउन कसैले चाहेको छैन। त्यसैले अध्यक्ष बैठकमा आउनु पर्छ उहाले नै निष्कर्ष निकाल्न सहयोग गर्ने हो,’ उनले भने,’बहुमतका नाममा पेल्नैपर्छ भन्ने धारणा आउँछ भन्ने छैन। सबै समझदारीका लागि विधिपूर्वक बैठक राखेर छलफल गर्ने अनि निष्कर्ष निकाल्ने हो।’

बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’