कालोमोसो दल्ने विप्लवका कार्यकर्तालाई विश्वराजले दिए औकात भए खुल्ला बहसमा आउन चुनौती
काठमाडौँ – विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका कैलालीका सहायक वनअधिकृत विश्वराज पण्डितले विप्लव नेकपाका कार्यकर्तालाई चुनौति दिएका छन् । चन्दा आतंकको विरोध गरेका कारण आफूमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता मोसो दलेको सहायक वनअधिकृत पण्डितले बताएका छन् ।
मोसो दलिएको आफ्नो तस्बिर कैलालीको पचमुडिया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर विप्लव नेकपाका कार्यकर्तालाई चुनौति दिएका हुन् ।
उनले चरित्रमा दाग नलागेसम्म अनेक रंग पोतेर केही फरक नपर्ने बताएका छन् । पण्डितले लेखेका छन्, ‘चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौँ रङ्गहरु पोतेर केहि फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’
सहायक वन अधिकृत पण्डितले लेखेका छन्, ‘ नेकपा विप्लव समूह कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाकोअविस्मरणीय रहने छ ।’
देश र जनताका विरुद्ध गरेका आफ्ना कुनै पनि कार्य भए राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार रहेको उनले उल्लेख गरेका छन् । ‘अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, उनले लेखेका छन् ।