खोटाङको दुई गाउँपालिकामा भिषण आगलागी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

खोटाङको दुई गाउँपालिकामा भिषण आगलागी



खोटाङ: खोटाङको रावावेशी गाउँपालिका–५, दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाको माक्पामा भिषण आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म तीन वटा घर र मतान जलेर नष्ट भएका छन् ।

सोही स्थानको सिलाजीबाट शुक्रबार दिउँसोबाट सल्केको डढेलोले नजिकैको दुवेकोल गाउँका गोपाल पाण्डे, युवराज पाण्डे र अभिकेसर पाण्डेको घर–मतान जलेर नष्ट भएको उक्त गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

त्यस्तै ऐसेलुखर्क गाउँपालिकाको माक्पा लेवाका तोमबहादुर निरौला र पहलमान निरौलाको पनि घर र मतान जलेर नष्ट भएको छ । दुवेकोलको सिलाजि भिरबाट लागेको डढेलोले गाउँ भेटेको हो ।

अहिले सम्म डढेलो नियन्त्रणमा आउन सकेको छैन् । हावाहुरी चलिरहेका कारण पुरैगाउँ असुरक्षित बनेको अध्यक्ष निरौलाले बताए । डढेलो नियन्त्रणका लागि ऐसेलुखर्क गाउँपालिकाबाट नेपाली सेना, प्रहरी तथा स्थानीयवासीहरु खटिरहेको भए पनि प्रयास असफल भएको अध्यक्ष निरौलाको भनाई छ ।

उक्त डढेलो ऐसेलुखर्क गाउँपालिकाको ७ नम्बर वडा माक्पामा पनि फैलिन सुरु गरेको छ । सो स्थानका स्थानीयवासीहरुको पनि घर जल्न सुरु भएको छ । जसका कारण लेवा गाउँ पुरै असुरक्षित बनेको छ ।

गाउँमा फुस र खरको छानो भएको साथै हावाहुरी चलेका कारण घर जोगाउन मुस्किल भएको हो । डढेलोका कारण के कति क्षति भएको छ भन्ने खुल्न सकेको छैन ।