'अतिरिक्त मात्रा खोप' अभियान सुरू नहुँदै स्थगित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

‘अतिरिक्त मात्रा खोप’ अभियान सुरू नहुँदै स्थगित



काठमाडौ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि आजदेखि सञ्चालन गर्ने भनिएको अतिरिक्त खोप अभियान स्थगित भएको छ। सरकारले यसअघि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई खोपको तेस्रो डोज अर्थात् अतिरिक्त डोज लगाइदिने घोषणा गरेको थियो।

यो कार्यक्रम आजबाट शुरू हुने तय थियो। तर, सबै व्यक्तिलाई पूर्ण खोप लगाइदिने अभियान प्राथमिकतामा पर्दा अतिरिक्त डोज लगाउने कार्यक्रम स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बताइन्।

”सबै नागरिकलाई कोभिड १९ विरुद्धको पुरा मात्रा खोप चाडै्र उपलब्ध गराउनु अहिलेलाई महत्वपूर्ण भएकोले अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो,” उनले भनिन्।

उनले प्राविधिक विषयहरूमा छलफल गरेर माघ महिनादेखि अतिरिक्त खोपबारे निर्णय लिइने जानकारी दिइन्।

यसअघि मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलगायतलाई खोपको अतिरिक्त मात्रा दिने सरकारको तयारी थियो।