७८ सालमा खोपका र ७९ सालमा भोट, ‘अर्ली इलेक्सन’ नहुने
झापा– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले कानुनी वैधता बिर्सेर एक हप्तामा सरकार ढाल्ने सतही अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
उनले विपद्को बेला प्रतिपक्षको भूमिका बिर्सेर हल्का अभिव्यक्ति नदिन समेत अध्यक्ष ओलीलाई सुझाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार ‘आफुहरूले चाहे एकसातामा सरकार ढाल्न सक्ने’ अभिव्यक्ति दिएपछि शर्माले त्यसको प्रतिवाद गरेका हुन्।
प्रवक्ता शर्माले विपद्को बेला सत्ता र प्रतिपक्ष नहुने समेत बताए। ‘यो बेला मिलेर जाने समय हो,सरकार ढाल्ने र बनाउने कुरा किमार्थ सान्दर्भिक हुन्न’ नेपाल प्रेस युनियन झापा माइपश्चिमले दमकमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘म एमालेका श्रदेय अध्यक्ष केपी ओलीलाई आग्रह गर्न चाहान्छु, यो सरकार ढाल्ने र बनाउने समय होइन, सम्यम विवेकले अघि बढ्ने समय हो।’
नेपाली कांग्रेसका प्रवक्ता शर्माले मुलुकमा ‘अर्ली इलेक्सन’ नहुने बताए। उनले समय अगावै प्रतिनिधिसभाको निर्वाचन हुने कुरा हल्ला मात्र भएको बताउँदै त्यस्तो अवस्था नरहेको स्पष्ट पारे।
यतिबेला सरकारको नेतृत्व गरिरहेको कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आआफ्नो पार्टीको महाधिवेशनको तयारीमा छन्’, प्रवक्ता शर्माले भने, ‘हाधिवेशनको केही समयपछि नियमित निर्वाचनको समय आउँछ त्यसैले ‘अर्ली इलेक्सन’ हुने अवस्था छैन, नियमित समयमा नै चुनाव हुन्छ।’
आउँदो वैशाखपछि स्थानीय तहको समयावधी पूरा हुने भएकाले अब तीनै तहको निर्वाचन समयावधी पूरा गरेर नै हुने उनले बताए। प्रवक्ता शर्माले भने, ‘कांग्रेस र अहिलेको सरकारको प्राथमिकता २०७८ साल खोपका लागि र २०७९ साल भोटका लागि हो।’
उनको विपद्का बेला राजनितिक दलको घेराभन्दा बाहिर बसेर पीडित जनतालाई राहत र उद्दारको काम गर्न सरकारलाई सबै दलले सहयोग गर्नु पर्ने बताए।
उनले भने, ‘संकटका बेला सरकारको आलोचना गर्ने भन्दा पनि विपद्मा परेका जनताको जीवनरक्षाका लागि सरकारलाई सबै दलले सहयोग गर्नु पर्छ।’
कोरोनाको संकट आउँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राहत कोषमा पचास लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गर्दै नेता शर्माले पछिल्लो समय बाढीपहिरोका कारण देशमा परेको संकटमा समयमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई अस्वभाविक भनेर टिप्पणी गरे।
शर्माले मन्त्रिपरिषदको बुधबारको निर्णयमार्फत बाढीपीडितलाई राहत दिने निर्णय गरेबाट सरकार पीडामा परेका नागरिकप्रति संवेदनशील रहेको पुष्टि हुने बताए । उनले कार्यकर्तालाई पीडितको पक्षमा काम गर्न, राहत र सहयोग सामग्री लिएर सम्बन्धित क्षेत्रमा पुग्न आग्रह समेत गरे।