डा. खिमलाल देवकोटाले दर्ता गराए उम्मेदवारी
काठमाडौँ-वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडा -५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराएका हुन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा उनले ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेललगायतको टोली देवकोटासँगै बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेको थियो । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ भने नेकपा एमाले भने उम्मेदवार छनोटका लागि छलफलमै व्यस्त रहेको छ ।