खेलमा झेली, विवादित पेनाल्टी र रोनाल्डो ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

खेलमा झेली, विवादित पेनाल्टी र रोनाल्डो !



रुसमा जारी विश्वकप फुटबलका सुरुका दुई खेलमा उनको चर्चा निकै भयो । उनी दुवै खेलमा लगातार म्यान अफ दि म्याच भए । दुवै खेलमा गोल गरे । टिमको बरबरी र जितमा उनकै मात्र गोल निर्णायक बन्यो ।

तर समूह चरणको अन्तिम खेलमा भने उनी कमजोर देखिए । विवाद उनकै वरिपरी खेरियो । त्यति मात्रै होइन उनी पेनाल्टीमा पनि चुके । उनी अर्थात पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो ।

समूह बी को अन्तिम खेलमा पोर्चुगलले इरानसँग सोमबार राति भएको खेलमा १–१ को बराबरी खेल्यो । यो खेलमा पोर्चुगलका लागि रिकार्डो क्वरिज्माले पहिलो हाफको अन्तिममा गोल गरे ।

खेलमा इरानले पोर्चुगललाई समस्यामा पार्ने जस्तो देखिएको थियो तर पोर्चुगल बचेको थियो ।

रोनाल्डोले गोल गर्ने प्रयास नगरेका होइनन् । तर उनका प्रहार कि बाहिर गए कि त रोकिए । अघिल्ला दुई खेलमा चार गोल गरेर गोल्डेन बुडको दौडमा आफूलाई कायम गरेको रोनाल्डोका लागि यो खेलमा गरेको गोल त्यो दौडका लागि थप बलियो बन्ने माध्यम बन्ने थियो ।

गोल्डेन बुट दौडमा रोनाल्डो भन्दा अघि चार गोल नै गरेका बेल्जियमका रामेलु लुकाकु र पाँच गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केन छन् ।

विवादले पाएको पेनाल्टी र चुकेका रोनाल्डो
यो खेलमा पहिलो हाफमा नै १–० को अग्रता लिएको पोर्चुगलका लागि दोस्रो हाफमा अर्को गोल थप गर्ने मौका आयो । इरानका साइद एजातोलाहीसँगको ट्याकलको क्रममा रोनाल्डो लडे ।

रेफ्री एनरिके क्यासरिसले सुरुमा पेनाल्टी दिएनन् । तर पोर्चुगलका खेलाडीले पेनाल्टी अपिल गरिरहे । त्यसपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री, भिएआरको सहयोग लिए । घटनाको भिडियो बारम्बार हेरेपछि रेफ्रीले आफ्नो पूर्व निर्णय फिर्ता लिँदै पोर्चुगललाई पेनाल्टी दिए ।

पेनाल्टी हान्न आए रोनाल्डो । तर उनको प्रहार इरानको गोल रक्षक अली बबिइरानवान्दले सुन्दर बचाउ गरे । रोनाल्डोले स्पेनसँगको पहिलो खेलमा पेनाल्टीमा गोल गरेका थिए ।

उनका प्रतिस्पर्धीका रुपमा हेरिने अर्जेन्टिनाका लियोनल मेस्सीले आइसल्याण्डसँगको पहिलो खेलमा पेनाल्टी मिस गरेका थिए । रोनाल्डोले इरानसँगको खेलमा त्यहि गरे ।

डराएका रोनाल्डो
पोर्चुगललाई पेनाल्टी दिएपछि खेलमा दुवै तर्फबाट विवाद बढ्दै गयो र रेफ्रीलाई भिएआरको प्रयोग गर्ने बाध्यता बन्यो फेरि । त्यसमा पनि रोनाल्डो नै जोडिए ।

खेलको अन्तिम समय तिर रोनाल्डो इरानका मोर्टेजा पाउराजिगान्जीको अघि आउन चाहन्थे । रोनाल्डोलाई उनले धकेलिरहेका पनि थिए । तर रोनाल्डोले अघि आउनका लागि आफ्ना फैलिएका हातले मोर्टेजाको अनुहारमा समातेको देखियो ।

रेफ्रीले सुरुमा लिएको निर्णय विरुद्ध इरानका खेलाडीले विरोध गरे । रेफ्रीले फेरि भिएआरको सहायता लिए । सम्भावित रातो कार्डका लागि भिएआरको सहयोग लिन रेफ्री भित्र जाँदा रोनाल्डोको अनुहार निकै उदास थियो र उनको अनुहारमा कतै रातो कार्ड पाएर अर्को खेलमा खेल्न नपाउने त होइन भन्ने चिन्ता थियो ।

रेफ्री फर्किए र निर्णयमा रोनाल्डोलाई पहेँलो कार्ड देखाए । अघिसम्म डराएका रोनाल्डोले रेफ्रीको निर्णयमा असहमति जनाए जस्तो त गरे तर उनको अनुहारमा खुशी थियो ।

खेलको सबैभन्दा विवादित निर्णय
भिएआर संलग्न भएर यो खेलमा गरिएका निर्णय मध्ये सबैभन्दा विवादित रह्यो इन्जुरी समयको पेनाल्टी निर्णय । इरानका सार्दर अज्मोउनले बल निण्न्त्रण लिने प्रयास गरेका थिए । पोर्चुगलका डिफेन्डर सेड्रिक सोएरिसले उफ्रेर त्यो बललाई हेड गर्दै जोगाउने प्रयास गरेका थिए ।

त्यसक्रममा बल उनको हातमा छोइएको जस्तो देखिएको थियो । रेफ्रीले त्यसलाई स्पष्ट ह्याण्ड बल मानेन् । तर इरानका खेलाडीले घेरे । रेफ्री भिएआरका लागि गए । भिडियो पटक पटक हेरेपछि इरानले पेनाल्टी पायो ।

इरानका एनसारिफार्दले पेनाल्टीमा गोल गरे । पोर्चुगलले जितिसकेको खेलमा बराबरीमा रोकिनु पर्‍यो । समूह उपविजेतामा सीमित भयो । यो बराबरी पछि अन्तिम १६ मा पुगेको पोर्चुगलले समूह ए को विजेता उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।