अर्थमन्त्री खतिवडासँग जग्गा र डलर यत्ति धेरै ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

अर्थमन्त्री खतिवडासँग जग्गा र डलर यत्ति धेरै ?



अर्थमन्त्री डा. युवराज खतिवडासँग ६२ हजार ७०३ अमेरिकी डलरसहित विभिन्न ठाउँमा जग्गाजमिन रहेको छ। बुधबार सम्पति विवरण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको आम्दानीबाट जग्गाजमिन जोडेको जनाएका छन्।

डा. खतिवडाले काठमाडौं-४ मा ५ आनामा आफैले घर बनाएको विवरण सार्वजनिक गरेका छन्। यो घरजग्गा राष्ट्र बैंकको सेवामा हुँदा त्यहाँबाट सापटी लिएर किनेको उल्लेख गरेका छन्। साथै श्रीमती कमला खतिवडाको नाममा काठमाडौं-४ मा १४ आना जग्गा पनि छ। यहाँ पनि घर छ। यो घरजग्गा राष्ट्र संघको सेवामा काम गर्दा भएको आयबाट किनेको विवरणमा उल्लेख गरिएको छ।

भक्तपुर चाँगुनारायणमा खतिवडाको १२ आना ४५ लाख रुपैयाँमा संयुक्त राष्ट्र संघको तलवबाट जग्गा किनेको जनाएका छन्। यसैगरी संयुक्त राष्ट्र संघको आयबाटै श्रीमती कमलाको नाममा चाँगुनारायणमा १२ आना ४५ लाखमा रुपैयाँमा जग्गा किनेको पनि विवरणमा उल्लेख छ।

श्रीमती कमलाको झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा छ। यसको खरीद मूल्य २६ लाख रुपैयाँ रहेको देखाइएको छ। यसैगरी श्रीमती कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको छ। यो जग्गा निजी बचतबाट किनिएको उल्लेख छ।

अर्थमन्त्रीको झापाको बुद्ध शान्तिमा १० कठ्ठा जग्गा ५ लाख रुपैयाँमा निजी बचतमा किनेको उल्लेख गरेका छन्। यसैगरी श्रीमती कमलासँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा चार रोपनी १ आना २ पैसा जग्गा किनेको पनि उल्लेख छ। राष्ट्र संघमा कन्सल्टेन्सी गरेको आयबाट २४ लाख रुपैयाँमा जग्गा किनेको विवरणमा उल्लेख छ।

अर्थमन्त्रीसँग सुन १० तोला सुन र एक किलो चाँदीका गहना छन्। ९० लाख रुपैयाँ हाराहारी नगद बैंकमा छ भने दुई सहकारीको शेयर किनेका छन्। ५ लाख ५ हजार रुपैयाँको शेयर किनेको विवरणमा उल्लेख छ। यसैगरी २४ लाख रुपैयाँ विभिन्न ब्यक्तिलाई ऋण दिएका छन्।