अर्थमन्त्रीको मैदानबाट 'रन आउट' भए युवराज खतिवडा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अर्थमन्त्रीको मैदानबाट ‘रन आउट’ भए युवराज खतिवडा



काठमाडौं- अथक प्रयास गर्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अन्तिम समयसम्म अडान लिइरहे उनको यात्रा जोगाउन सकेनन ।

राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेसंगै खतिवडा मन्त्री बन्न नपाउने भएका हुन् ।

नेकपाको आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपा सचिवालयको यो निर्णयसँगै अर्थमन्त्री खतिवडाको अर्थमन्त्री पद २० भदौमा सकिने भएको छ। प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा दोहोर्‍याएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेको भए पनि पार्टी भित्रको शक्ति सन्तुलन र विवाद मिलाउनका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने भएका छन्।

यसअघि केही दिनदेखि प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने गरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका थिए।

पार्टी भित्रको विवाद समाधानका लागि ओली अन्तिम समयमा आएर खतिवडालाई छाडेर प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न सहमत भएका हुन्।

बुधबार प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएर डोल्पाबाट चुनाव लड्न र प्रतिनिधि सभा सदस्य बन्न सुझाएका थिए। तर, गौतमले आफू राष्ट्रिय सभा सदस्य नै बन्ने बताएका थिए। गौतमले आफूलाई उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्ने दाबी गरेको स्रोतले जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको सदस्यमा मनोनित भएका डा. युवराज खतिवडाको कार्यकाल गत २० फागुन २०७६ मा सकिएको थियो। राष्ट्रिय सभा सदस्यको पदावधि कायम हुने गोला प्रथामा खतिवडालाई दुई वर्षको कार्यकालको गोला परेको थियो।

राष्ट्रिय सभा सदस्य पद नरहने भएपछि गत फागुन २० मा उनले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका थिए। ओलीले खतिवडालाई पुनः अर्थमन्त्री पदमा नियुक्त गरेका थिए। २१ फागुनमा अर्थमन्त्री पदको दोस्रो पटक सपथ ग्रहण गरी सोही दिन पद बहाली गरेका खतिवडाको ६ महिने कार्यकाल २० भदौमा सकिँदैछ।

सांसद नरहेको व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने र ६ महिना भित्र संसद सदस्य बनेमा उक्त पद निरन्तर हुने संवैधानिक व्यवस्था अनुसार खतिवडा दोस्रो पटक अर्थमन्त्री भएका थिए।