अडानबाट एकाएक पछि हटे प्रधानमन्त्री: खतिवडा 'रिङ आउट' - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

अडानबाट एकाएक पछि हटे प्रधानमन्त्री: खतिवडा ‘रिङ आउट’



काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजाने अडानबाट एकाएक पछि हटेका छन् । ओली निकट स्रोतका अनुसार कार्यदलले पेश गरेको प्रतिवेदन र पार्टीमा फेरि विवाद बढ्नसक्ने आंकलन गर्दै उनी पछि हटेका हुन् ।

पार्टी र सरकारबीच नियमित परामर्शमार्फत पद्दति विकास गर्न दिएको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक लिएको र पार्टीमा थप विवाद बढ्न नदिनका लागि सचिवालय सदस्यहरूसंग परामर्श गरी पार्टीकै प्रस्ताव कार्यान्वयन गर्ने योजना बनाएका हुन् ।

बुधबारसम्म अर्थमन्त्री युवराज खतिवडालाईनै राष्ट्रियसभामा कुनैपनि हालतमा मनोनित गर्ने अडानमा रहेका ओलीले एकाएक ब्याक भएका छन् । गत फागुन १४ गते केन्द्रीय सचिवालय बैठकमा सर्वसम्मतीले नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न निर्णय गरेको थियो ।

सोहि निर्णयका आधारमा ६ महिनापछि गौतमले निर्णय कार्यान्वयन हुनुपर्ने भन्दै आफ्नो दाबी पेश गरे । गौतमले राखेको पछिल्लो प्रस्तावले ओलीलाई नैतिक र राजनीतिक हिसावले पार्टीको निर्णयको विरुद्धमा जाँदा थप विवाद र संकटको सामना गर्नुपर्ने देखिएको थियो ।

राष्ट्रियसभाको अवधि सकिएका खतिवडालाई मन्त्री बनाएर सूचना,सञ्चार तथा प्रविधि विकास मन्त्रालयको अतिरिक्त जिम्मा, सरकारका प्रवक्ता समेत तोकेर उनी अरु भन्दा प्रिय भएको स्पष्ट संकेत प्रधानमन्त्री ओलीले दिएका थिए।

स्रोतका अनुसार बुधबार साँझ बालुवाटारमा भएको भेटमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभामा लागेको खण्डमा ओलीलाई अझैबढी सहयोग गर्ने बचन दिएका छन् । एकातिर गौतमको साथ् पाइने र अर्कातिर पार्टीको विवाद पनि समाधान हुने देखिपछि प्रधानमन्त्री ओली ब्याक भएको बताइन्छ ।

राष्ट्रियसभामा देखिने यो दृश्यले पार्टीका अर्का नेता सुरेन्द्र पाण्डेलाई समेत फाइदा पुग्ने देखिएको छ। प्रधानमन्त्री ओलीको हिसाव अनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष, गौतमलाई राष्ट्रियसभामार्फत मन्त्री र पाण्डेलाई अर्थमन्त्री दिएमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल समेत समेत खुसी हुने र आफ्नो पक्षमा पार्टीमा मत जुट्नेछ।