अमेरिकाबाट फर्किएपछि खतिवडा प्रधानमन्त्री ! - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

अमेरिकाबाट फर्किएपछि खतिवडा प्रधानमन्त्री !



‘अब अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री बनाउने त होला नि !’

यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो।

डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा प्रस्तावित भएपछि अधिकांश असन्तुष्ट मानिसले उनलाई गाली हैन बरु विभिन्न शैलीमा व्यंग्य गरेका छन्।

डा.खतिवडाले केही कर्मचारीसँग गरेको एउटा कुराकानीले यस्तै बुझाउँछ। यो खबर बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ। ‘

कहिल्यै राजनीति नगरेका खिलराज रेग्मी पनि मन्त्रिपरिषद्को अध्यक्षका नाममा प्रधानमन्त्री नै भएका होइनन् र? के त्यस्तो परिस्थिति फेरि आउँदैन र?’ उनका ज्वाइँ डा.रामशरण खरेलले आफूलाई जिस्क्याउनेहरुको राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेर यसरी प्रतिवाद गर्न थालेका हुन्।

हो पनि, नेपालमा चाकडी संस्कृतिको पक्षपोषण गर्नेहरुले कहाँ, कतिबेला, के पाउँछन्– भन्नै सकिँदैन । डा.खतिवडा पनि माधव नेपाललाई कन्याएर गभर्नर भए अनि केपी ओलीलाई ‘महान राष्ट्रवादी राजनेता’ जस्ता पदावली प्रयोग गर्दै नजिकिए, प्रधानमन्त्रीसम्म हुने सपना साँच्न भ्याइसके।

नेपालको राजनीतिक क्षितिजमा यस्ता गैरराजनीतिक मानिसहरुको चलखेल र चाकडीको श्रृंखला नयाँ होइन।

भोजराज घिमिरे मुख्यसचिव हुँदा प्रचण्ड प्रधानमन्त्री थिए। फाइल च्यापेर एक साँझ भोजराज बालुवाटार पुग्नासाथ बत्ति गयो । अनि, प्रचण्डलाई ‘हेर्नु त सिएम, तपाईंको शासन सफल हुन नदिन कस्तो षड्यन्त्र गरेका’ भन्दै उकास्न थाले । एकैछिनमा बत्ति आयो । भोजराजले बोली फेरे, ‘ल, हेर्नु त, वाइसिएलले ठोक्लान् भनेर बत्ति दिइहाले!’

चाकडीवाजहरु प्रधानमन्त्रीलाई दुई मीनेटभित्र दुई किसिमका कुरा गरेर खुशी पार्न कति माहिर हुन्छन्, दूतावास हुँदै नभएको क्यानाडामा कसरी राजदूत पद उछिट्याउँछन्– यही घटनाबाट बुझ्न सकिन्छ।

चाकडीवाजहरु पहिला–पहिला कृष्णप्रसाद भट्टराईलाई किशुनजी र गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ नै भन्थे । पछि सुशीलदा पनि भन्न भ्याए । देशका प्रधानमन्त्रीलाई कर्मचारीहरुले ‘सम्माननीयज्यू’ वा ‘प्रधानमन्त्रीज्यू’ भन्नुलाई स्वाभाविक मान्नुपर्छ। प्रचण्डको ‘सिएम’, अर्थात् ‘चेयरमेन’ पद देशको हैन, पार्टीको मात्रै हो।

अनि केपी ओलीलाई ‘बा’ भन्नु परिवारका केही सदस्यको आदरार्थी संबोधन होला । तर व्यापारी दिपक भट्टहरुबाट यही थेगो उच्चारण हुनेगर्छ । भोजराज पार्टीका कार्यकर्ता थिएनन्, देशको कर्मचारीतन्त्रका उच्च ओहोदाधारी व्यक्ति थिए।

गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजाबाबु’ को संबोधन अनौपचारिक हो । तर, औपचारिक दर्जाका मान्छेहरुले अनौपचारिक संबोधन गर्नु चाकडीको पराकाष्टा हो।