खतरनाक मोडमा नेकपाको विवाद: पुस्तक बनाएर प्रतिवेदन बाँड्ने तयारी - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

खतरनाक मोडमा नेकपाको विवाद: पुस्तक बनाएर प्रतिवेदन बाँड्ने तयारी



काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको उग्र विवादले झनै फरक मोड लिने देखिएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पेश गरिएको विभिन्न आरोपसहितको प्रतिवेदन कार्यकर्तामाझ वितरण गर्न थालिएपछि यसले पार्टीमै तरंग ल्याएको छ ।

नेकपा अध्यक्ष ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ । स्रोतका अनुसार उक्त प्रतिवेदनलाई पुस्तक बनाएर कार्यकर्तामाझ वितरण गर्न थालिएको हो ।

आरोप मात्रै लगाएर प्रतिवेदन पेश गर्दा मात्र पनि जवाफ दिन नसकेर थर्कमान बनेको प्रधानमन्त्री ओली र उनको सचिवालय प्रतिवेदन तल्लो तहसम्म वितरण थालिएपछि आकुल ब्याकुल बनेको छ ।

नेकपाकै एक नेताका अनुसार जवाफ दिन नसकेर फिर्ता लिन तिब्र दवाव दिइएको उक्त प्रतिवेदन तल्लो तहसम्म पुग्दा ओलीपक्षको टाउको दुखाई बनेको छ ।

स्रोतका अनुसार उक्त प्रतिवेदनलाई ३२ पृष्ठको पुस्तक नै बनाएर पुस्तक कार्यकर्तामा बाँड्न थालिएको छ । समस्या समाधान गर्न पार्टी मातहतका बैठक आह्वान गरेको समयमा प्रधानमन्त्री ओली समुहले झनै एकताविरोधी गतिबिधि गर्न थालेपछि प्रचण्ड-नेपाल समुहले उक्त प्रतिवेदन तल्लो तहसम्म पठाउन लागेको हो ।

प्रचण्ड-नेपालको यसै तयारीले तनावमा परेका ओली पक्षका केहि नेताहरू विभिन्न वक्तव्यबाजीमा उत्रिएको बताइएको छ । उनीहरूमा अध्यक्ष प्रचण्डको नेतृत्वमा पेश गरिएको दस्तावेज फिर्ता गर्नुपर्ने अडान अहिलेपनि लिएका छन् ।

खासगरी यो प्रतिवेदनसंग जोडिएका ओम्नी काण्ड र स्वास्थ्य सामाग्री अनियमिततामा काण्डमा प्रत्यक्ष रूपमा जोडिएको आरोप लागेका उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रतिवेदन फिर्ता गर्नुपर्ने चर्को आवाज उठाएका छन् । त्यसपछि सेक्युरिटी प्रेस काण्डमा ७० करोड बार्गेनिङ गरेका पूर्वमन्त्री गोकुल बास्कोटाले पनि आवाज चर्काएका छन् ।

प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ।

बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ ।

१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।