स्थायी कमिटि बैठकमा खरो प्रस्तुत हुने प्रधानमन्त्री ओलीको तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

स्थायी कमिटि बैठकमा खरो प्रस्तुत हुने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको तिक्तता कसरि अन्त्य होला भन्ने आम नागरिकको चासो बढेको छ । पार्टी र सरकार विधिवत तरिकाले नचलेको भन्दै छलफलका लागि गत असार १० देखि जारी स्थायी कमिटि बैठक पटकपटक स्थगित हुँदै आएको छ ।

लामो सयमा रोकिएको स्थायी समिति बैठक शुक्रबार फेरि बस्‍ने भएको छ। बैठक सुरु भएयता नियमित हुन नसकेको सो बैठक बाढी तथा पहिरोको कारण भन्दै गत शुक्रबारदेखि एक साताका लागि स्थगित गरिएको थियो ।

बिहीबार प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलले स्थायी समितिलाई निरन्तरता दिने सहमति गरेको थियो ।

बैठक बस्‍ने भएसँगै प्रम ओली यतिबेला रणनीति निर्माणमा जुटेका छन् । यसका लागि उनले आफू निकटका स्थायी समिति सदस्यलाई बालुवाटार बोलाएको स्रोतले बताएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका स्थायी समिति सदस्य र सांसदहरू प्रमसँगको छलफलमा सहभागी रहेको थाहा भएको छ ।

यसअघि स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यले प्रम ओलीको कडा आलोचना गर्दै राजीनामा नै मागेका थिए । बैठकमा अहिलेसम्म ओलीनिकटका स्थायी समिति सदस्यले खुलेर बोलेका छैनन् । बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार भाेलिको बैठकमा ओली निकटका स्थायी समितिहरु शसक्त ढंगबाट प्रस्तुत हुने तयारी छ ।

बैठकमा सरकारको कमजोरी र ओलीको कार्यशैलीको कारण राजीनामा मागिएको भएपनि तिनलाई विषयान्तर गर्दै सरकार र ओलीको बचाउ गर्ने रणनीति तयार भइरहेको बुझिएको छ । यसअघि पनि ओलीनिकटका नेता तथा मन्त्रीहरुले अहिले राजीनामा माग्‍ने समय नभएको र सरकारलाई साथ दिनु पर्ने भन्दै मुल विषयलाई पन्छाउने प्रयास गरेका थिए ।