सर्वोच्चमा खरो बहस: श्रीमानलाई एकपटक कम्पन ल्याउँ भन्ने लाग्या छ र ? - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

सर्वोच्चमा खरो बहस: श्रीमानलाई एकपटक कम्पन ल्याउँ भन्ने लाग्या छ र ?



काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीको राय लिने क्रम जारी छ ।

एमिकस क्युरीका रुपमा बुधबार बहसका लागि उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै खरो बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पाँच सदस्यीय इजलाशसमक्ष खरेलले भने, ‘प्रणाली नै ध्वस्त हुन लागेको छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए मात्र पुस ५ को संसद् विघटन सदर गरौ श्रीमान् !’ ।

नेपालको वर्तमान संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको जिकीर गर्दै खरेलले भने, ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७ ।

हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा फुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

बेलायत संसदीय व्यवस्थाको जननी हो, त्यहाँ विघटनको अधिकार छ भन्दैमा यहाँ लागू नहुने भदै उनले बेलायतमा संसदीय सर्वोच्चता र नेपालमा संवैधानिक सर्वोच्चता रहेकोतर्फ इजलाशको ध्यानाकर्षण गराए ।

संसदले निर्वाचित गर्ने प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्दै खरेलले भने, ‘अहिले पनि बेलायतकै व्यवस्था मान्ने हो भने त वीरेन्द्रका अगाडि चन्द्रशमशेरको जय भन्या जस्तो हुन्छ । खम्पा विद्रोहका बेला राजा वीरेन्द्र, हुम्लाको यारी भन्ने ठाउँ गए । त्यहाँ राजा आउँदै छन् भनेर भनियो । हेलिकोप्टरबाट वीरेन्द्र ओर्लिनेबित्तिकै जनताले भने– चन्द्र शमशेर कि जय !’

हुँदै नभएको अधिकार प्रयोग गर्दा अराजकता बढ्ने जिकीर गर्दै वरिष्ठ अधिवक्ता खरेलले भने, ‘माथिकाले सीमा नाघ्यो भने तल भएकाहरुले पनि सीमा नाघ्छन्, त्यसैले विघटनलाई असंवैधानिक भनेर खारेज गर्नुपर्छ । प्रणाली ध्वस्त हुने संघारमा छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए सदर गर्नुस् । विकल्प श्रीमानहरुसमक्ष छ ।’

प्रधानन्यायाधीश राणाले भने खरेललाई २०४७ सालको संविधानलाई सन्दर्भ मान्ने कि नमान्ने प्रश्न गर्दै भने, ‘२०४७ को संविधान र अहिलेको संविधानबीच कुनै साइनो छैन भन्ने कुरा उठेको छ । तर, सन्दर्भ २०४७ कै आइरहेको छ । भनेपछि २०४७ को संविधानको सिरानी हालेर व्याख्या गर्ने कि नाइँ ?’

खरेलको जवाफ थियो, ‘धारा ८५ र ७६ एक अर्काका परिपूरक हुन् । एकपटक प्रधानमन्त्रीले बहुमत प्राप्त गरेपछि विघटन हुन्छ भन्ने यो संविधानले कल्पना गरेको छैन । धारा ७६ बाहेक ८५ ले स्वतन्त्र रूपमा विघटनको अधिकार दिएको छ भन्ने तर्क ठीक छैन ।’