गृहमन्त्री भन्छन् : नेपाली ल्याउन अफगानिस्तान जहाज पठाउन सकिएन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गृहमन्त्री भन्छन् : नेपाली ल्याउन अफगानिस्तान जहाज पठाउन सकिएन



काठमाडौं- अफगानिस्तानमा नेपालीहरू उद्दार गरेर नेपाल ल्याउने विषयमा गृहमन्त्री बालकृष्ण खाँणले विवादित अभिव्यक्ति दिएका छन् । उनले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजाबहाक जहाज जान नसक्ने बताएका छन् ।

गृहमन्त्री खाँणले तत्काल काबुलमा जहाज पठाउन सक्ने अवस्थामा नरहेको बताए । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री खाँणले नेपाली ध्वजाबहाक जहाज पठाउन सरकार तयार रहे पनि काबुलमा जान सक्ने अवस्था नरहेको बताए ।

वैकल्पिक रूपमा नेपालीको उद्दार गर्नुपर्ने भन्दै उनले अन्य माध्यमबाट छिमेकी मुलुक हुँदै नेपालीलाई ल्याउने पूर्व तयारी गरेको जानकारी दिए । अन्य देशहरूले आफ्ना नागरिकहरूलाई फिर्ता लागिरहेका बेला गृहमन्त्रीले नेपाली जहाज पठाउने अवस्था नभएको बताए ।

अफगानस्थानमा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको र कति नेपाली आउन बाँकी छन् भन्नेमा सरकार निरन्तर संवादमा रहेको उनले बताए ।

अफगानस्थानको घटनामा नेपाल तटस्थ रुपमा उभिएको समेत गृहमन्त्रीले बताए । समितिले अफगानिस्तानमा रहेका नेपालीको मानव अधिकारको स्थिति, सुरक्षा र उद्धार सम्बन्धमा सरकारसँग छलफल गरेको हो ।