एकहजार बाढीपीडितलाई निःशुल्क भोज खुवाउँदै नेपाली सेना - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एकहजार बाढीपीडितलाई निःशुल्क भोज खुवाउँदै नेपाली सेना



 

राजविराज ।

खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो ।

जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा देउरी भरुवाका करिब एकहजार बाढीपीडितलाई भात, दाल र तरकारीसहित खाना खुवाएको नेपाली सेनाले जनाएको छ ।

कृष्णदल गण राजविराजबाट गएको नेपाली सेनाको टोलीले त्यहाँ रहेका बाढीपीडितलाई खाना खुवाएका हुन् । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।

१८ नं वाहिनी अड्डा सिए गुल्म, उदयपुरबाट आएका चिकित्सकद्वारा करिब ४१० जना स्थानीय बाढीपीडितलाई निःशुल्क उपचार गराइएको कृष्णदल गणका नेपाली सेनाका सेनानी सुरेन्द्रदेव बोगटीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा आयोजित सो स्वास्थ्य शिविरमा एकजना एमबिबिएस डाक्टरससहित छजना डाक्टरको टोलीले ती बाढीपीडितलाई उपचार गराई निःशुल्क औषधिसमेत वितरण गरेको सेनानी बोगटीले जानकारी दिए।

यसैबीच, राजविराज–१० स्थित बिरोलमा खाँडो नदीबाट क्षति भएको बाँधलाई समेत नेपाली सेनाले मर्मत एवं पुनःनिर्माणमा जुटेको नेपाली सेनाले जनाएको छ । रासस