तपाई खाना खादै हुनुहुन्छ कि विष ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तपाई खाना खादै हुनुहुन्छ कि विष ?



-बाबुलाल भण्डारी

सही  खानपानले सयौं औषधी वरावरको काम गर्छ भन्ने आर्युवेदिक भनाई छ । पश्चिमा औषधी प्रणालीका जनक हिपोके्रट्सको खाना नै हाम्रो औषधी बन्नु पर्छ भन्ने शाश्वत् भनाइको मर्म र आधुनिक पोषणविदहरुको मान्यता पनि मोटामोटी यस्तै देखिन्छ ।साचो अर्थमा खाना भोकको तृप्ति वा मुखको मिठास भन्दा विज्ञानले छिचोल्न नसकेको प्रकतिको अपरिमेय वुध्दिमत्ता र उर्जालाई हाम्रो शरीर भित्र ल्याउने जीवनदायिनी माध्यम पनि हो । यसैले गलत आहार र खानपानको गलत तौरतरिका रोग र सबै शारीरिक विकारहरुको लागि प्रमुख रुपले जिम्मेवार बन्ने कुरामा विवाद हुन सक्तैन ।अझ आर्युवेदको सनानत शास्त्रीय मत बमोजिम हामीले के खान्छौं भन्दा पनि हामी खाना कसरी खान्छौ भन्ने कुराले ज्यादा अर्थ र महत्व राख्दछ र आश्चर्य नरहोस्,आधुनिक वैज्ञानिक अनुसन्धानहरुबाट समेत झण्डै यहि कुराको पुष्टि र समर्थन हुदै आएको छ ।यसको तात्पर्य खाना प्रतिको भावनात्मक अनुराग र सचेतना सहित पुरापुर शारीरिक र मानसिक उपस्थिती खानाको प्रमुख तत्व हो जसमा हामीले सोंच पुर्‍याउन भ्याएका हुदैनौं।

आजको व्यस्त दिनचर्यामा खाना माथिको अनिवार्य एकाग्रताबाट पुरै वहकिएर,कार्यालयको लागि समय ढिप्क्याएर हतारहतार खाइसक्नु वा टि.भि मा अपराध कथा हेर्दै, कम्प्युटर स्क्रिनमा काम गर्दै वा मोवाइल फोनमा विवाद गर्दै र अझ घरका सदस्यसंग झर्काेफर्काे गर्दै असन्तुष्टि,तनाव,चिन्ता र व्यग्रताका विच खाना खान हामी सबै अभ्यस्त छौ । यस्तो विभाजित मनोदशामा खाएको राम्रै खानाले पनि मन र शरीरमा पोषण ,यसका प्रणालीमा सन्तुलन र शरीरमा शक्ति ,स्फूर्ती र ओज ल्याउनको साटो तमाम खाले गडबडी र व्याधीहरुको सुत्रपात गर्दछ । पाचन सम्बन्धी समस्या र यसबाट जन्मिने धेरै रोग खासमा पेटबाट नभएर पहिले मस्तिष्कबाटै थालनी हुन्छन् भन्ने भनाइमा निश्चित वैज्ञानिक आधारहरु भेटिन्छन् । आजको मान्छे महङ्गी, वेरोजगारी, आर्थिक समस्या, पारिवारिक झञ्झट, कार्यक्षेत्रको दबाब र त्यसै गरी सडक जाम, हत्याहिसांका समाचार, महत्वाकांक्षा र प्राप्ति विचको असन्तुलनले हमेसा अशान्त र तनावमा बांचेको छ ।

वैज्ञानिकहरुले यस्तो अवस्थालाई सिम्पथेटिक स्नायुको अवस्था भन्दछन् जसमा उद्विग्नता ,छट्पटाहट , व्यग्रता, रिस , चिन्ता र भय जस्ता सम्वेगहरु प्रवल हुन्छन् र हाम्रो स्नायू प्रणाली फाइट अथवा फ्लाइट (लड वा भाग) को सङ्कटकालिन प्रतिकृयाको निम्ती तर्सेको विरालो जस्तै चनाखो बनि रहन्छ । यस्तो वेलामा मुटु,फोक्सो र विशेष गरी दिमाग र टाउकोको माश्ांपेशी तर्फ ज्यादा रगत एकोहोरिए संगै स्वाभाविक रुपले रक्तचापमा वृध्दि एवं स्वासप्रश्वास र हृदयको गति तेज हुने लक्षणहरु देखा पर्न थाल्दछन् । फलतः बढ्दो रक्तचाप र हृदयको चाल सहित सिङ्गो तनावको अवस्थालाई समायोजन गर्न शरीरले एकातिर एड्रिनलिन  भन्ने स्टे«स हर्माेन निष्कासनमा अत्यधिक वृध्दि गर्छ भने अर्काेतिर विभिन्न अङ्ग र माशंपेशीमा तुरुन्त आवश्यक पर्ने थप तागतको निम्ति इन्सुलिनलाई रोकेर कलेजोले बढि ग्लुकोज पैदा गर्न थाल्छ । अझ तनाबको यस्तो स्थितिमा एड्रिनलिनले आमाशय र इन्टेस्टाइनका मांशपेशी ढिला पार्दै पाचन अंगमा प्रवाहित हुने रगतलाई पनि अन्यत्र सोझ्याउन थाल्छ र परिणामत पाचन कृया पुरै स्थगित वा अवरुद्व हुन सक्छ । त्यसैले पनि परिक्षा खराब हुंदा वा कारणवशः सद्मा वा चिन्तातुर भएको वेला हामीमा खाना प्रतिको अरुची वा अनिच्छा नितान्त स्वाभाविक हुन जान्छ । पाचन कार्य यसरी बन्द वा सिथिल भएको अवस्थामा खानाको खण्डिकरण,प्रशोधन र अवशोषण सबै लथालिङ्ग हुने र लिकीगट हुदैं यस्तो आशिंक पचेको खाना हाम्रो प्रणाली भित्र आइपुग्दछ ।

सदियौं देखि आयुर्वेदमा आम भनेर पर्गेल्दै आएको यो त्यही वस्तु हो जसलाई चिकित्सा विज्ञानले टक्सिन अर्थात विषादी भनेर बुझ्न थालेको छ । शरीरको लागी बिजातिय यस्तो वस्तुलाई हाम्रो प्रणालीले पनि चिन्न नसकी एलर्जिन वा चुनौतिका रुपमा व्यवहार गर्न थाल्दछ । पाचन कृयाको अवशेष मानिने यस्तो विषादि शरीरमा भित्रिए पछि विभिन्न च्यानलहरुमा बग्न थाल्दछ र तन्तु र अङ्गहरुमा संचित भई कोषिय तहको पोषण र विकार उत्सर्जनमा अवरोध गर्दै नाना प्रकारका असन्तुलन जन्माउन थाल्दछ ।यसरी भन्न सकिन्छ , सिम्पेथेटिक मोड वा अशान्त अवस्थाको भोजन नै आजका धेरै मानिसहरुका पाचन र त्यस सङ्ग जोडिएका समस्याहरुको ठूलो कारण बनेको छ । सिम्पथेटिक स्नायूको झण्डै झण्डै विलोम प्यारा सिम्पथेटिक स्नायु हो ।तनावको अवस्था सुध्रिए पछि यो स्नायु स्वतः कृयाशिल हुन्छ र यसमा रक्तचाप,स्वासप्रश्वास र मुटुको चाल पूनः सामान्य वन्न थाल्दछन् । तनावको अवधीभर ज्यादा उर्जा खर्च हुनाले तनाव र चिन्ताको कारण हटेसंगै शरीरमा थकान , कमजोरी र भोकको समेत अनुभूति हुन थाल्दछ । अब तपाईको शरीर, मन र स्नायु समेत धैर्य ,आरामपूर्ण, सुरक्षित  र हल्का महसुस गर्न थाल्दछ र शरीर उर्जा निर्माण र सञ्चय ,नविकरण, मरम्मत र सन्तुलन हुदै आरोग्यको बाटोमा ति सबै नियमित कार्यकलापमा फर्किन्छ जो आरामको समय सञ्चालित हुन्छन् । साथसाथै इन्डोर्फिन र सेरोटोनिन उत्पादनले व्यक्तिले प्रसन्नता र सन्तोषको अनुभूति गर्न थाल्छ । यि सबै भन्दा माथि पाचन कृयामा सबै अनुकूल परिवर्तनको पुरै जस पनि प्यारा सिम्पथेटिक स्नायूलाई नै जान्छ, कारण यसैले ¥यालग्रन्थी र ग्यास्ट्रिक जुस उत्पादनलाई तत्काल कृयाशिल गर्नुका अलावा पाचन अङ्गहरुमा अवरुद्ध भएको रक्त प्रवाहलाई पून सुचारु गर्न र भोजनलाई विभिन्न अवयवमा टुक्राउने ,पचाउने र त्यसमा भएका सबै अत्यावश्यकीय पोषक तत्वहरुलाई अवशोषण गर्नमा भूमिका खेल्दछ ।त्यसैले यो पाचन कृया पून सक्रिय हुने अवस्था भनेर पनि बुझ्न सकिन्छ ।

पूर्वीय शास्त्रीय परम्परामा सिम्पथेटिक अवस्थाबाट प्यारा सिम्पथेटिक स्नायुको अवस्थामा जाने सबैभन्दा छोटो र सजिलो बाटो खाना अघि केही बेर गहिरो सास लिनु हो ।पूर्वीय सस्कृतिमा हजारौ वर्ष अघि देखि अभ्यासमा रहेको प्रणायामको यो विधी मार्फत तत्काल शरीर र मनलाई शान्त र सन्तुलित पार्न सहयोग पुग्ने आजका वैज्ञानिक अध्ययनको पनि निचोड छ । एलर्जी प्रतिकृयाबाट पिडित व्यक्तिहरुका लागि त यो झनै आवश्यक कुरा हो ।स्वास्थ्यको हिसाबले खाना खाने कार्य आफैमा एउटा महत्वपूर्ण र सम्मानित कार्य पनि हो ।त्यसैले यसका लागि शान्त र प्रशन्नताको परिवेश हुनै पर्दछ ।यस्तो परिवेशको वहालीका लागी होहल्ला,तनाव,क्रोध, व्यग्रता रहित हलुङ्गो र खुसनुमा स्थिती आवश्यक तत्व हुन् ।यो सबै जुट्न तत्काल संभव नभए कमसेकम आराम साथ भुइमा बसेर खाना खान कसैलाई पनि ग्राह्रो हुदैन र यसो गर्दा पाचन अङ्गहरु सक्रिय बन्ने अवस्था बन्दछ ।फेरी पाचन कार्य मुख देखि नै सुरु हुने हुनाले धैर्यताका साथ राम्ररी चपाएर खाना खानु पाचन कृयाको पहिलो सर्त हो ।¥याले ग्रन्थीबाट दिनमा ३२ औंश(९४४मि.लि) सम्म पाचक इन्जाइम निष्कासन हुन्छ र चपाउदा ठोस खाना पनि पेटमा जानु अघि नै मिहिन लेदोमा बदलिने र यसो गर्दा इन्जाइमहरुले काम गर्ने पर्याप्त समय पाउछन् । खानालाई मुखमा राखे देखि निस्कासन हुने अन्तिम विन्दु सम्म चपाउने अङ्ग दात मात्रै हुन् र नचवाई खाइएको खानाले पाचन अङ्गलाई ठूलो भार थप्ने र यसमा ज्यादा उर्जा खर्च गर्नु पर्ने हुन्छ । खाना पछि उर्जाको सञ्चारको सट्टा थकाई र अल्छी लाग्ने कारण पनि यहि नै हो । खाना चपाउदा जिव्रो र यसको टेस्ट वडहरुले मस्तिष्कलाई आवश्यक संकेत गर्न भ्याउने,शरीरका सिष्टमले यसलाई बुझ्न पाउने र अझ त्यसमाथि अनावश्यक रुपले वढि खाना खाइने समेत अवस्था रहदैन । त्यसैले खानाको लागि आधा घण्टाको समय छुट्याउनु, खानालाई न्यूनतम ३२ पटक चपाउनु र जुस लिदै हुनु हुन्छ भने पनि यसलाई १० सेकेण्ड मुखमै रोकेर राख्नु ज्यादा जरुरी छ । भनिन्छ, पहिले एक चौथाई खाना आखाले लिन्छन् । यसको तात्पर्य खानाको रङ्ग, गन्ध, स्वादहरुको भरपुर रसास्वादनमा यथासंभव शरीरका पाँचै इन्द्रियलाई केन्द्रित गरियोस् भन्ने हो । मुख्य कुरा खाना वाट कुनै पनि प्रकारले ध्यान वहकिन नपाओस र पुरापुर तन्मयता र महत्ववोधका साथ शरीर मात्र होइन की मनलाई समेत खाना सङ्गै उपस्थित गराउने चेष्टा जरुरी छ । यसरी खाइएको खाना मात्र शरीरको लागि अमृत सावित हुन्छ । हुन पनि शरीरको लागि पोषण, उर्जा र स्वास्थ्यको रक्षा गर्ने खाना भन्दा परम पावन र कल्याणकारी अनुभव अर्को हुनै सक्तैन । तर आधुनिकताको नाममा हामी हाम्रा संस्कारहरुवाट च्युत हुनुमा रमाउन थालेका छौ । हाम्रा वावा वाजेहरुले खाना खानु अघि सुद्ध जललाई खानाको थालको वरीपरी घडिको सुइको विपरित दिसामा घुमाएर अप्साना वा भोग लगाए पछि मात्र खानालाई प्रसादको रुपमा ग्रहण गर्नुहुन्थ्यो । अहिले यो धेरैलाई हाँसोको विषय हुन सक्छ ।

श्रीमद भागवद् गिताको अध्याय ४ श्लोक २४ ले “व्रह्मार्पणौ व्रह्महवि।।।।।।व्रह्मकर्म समाधिना” अर्थात व्रह्मरुपी अग्नीमा व्रह्मद्वारा व्रह्ममा अर्पण भएको व्रह्मरुपी हवि व्रह्म नै हो भनेर भोजनलाई व्रह्म   कै रुपमा पुज्य ठानेको छ र यहि मन्त्र युगौंयुग खाना पूर्वको प्रार्थनाको रुपमा सर्वत्र चल्तीमा थियो । त्यस्तै “हरिर्दाता हरिर्भोक्ता‘।भुङ्ते भोजयते हरि” मन्त्रले पनि दाता हरि हो, खाने हरि हो, खुवाउने हरि हो र अन्न पनि हरि हो भनेर भोजनलाई इश्वरीय दर्जा दिएको छ । यस्तो उत्तम भावको जागृतिले अरु कुराका अतिरिक्त रिस, राग, प्रपञ्च वाट पर मनमा सात्विक, आस्तिक र सम्यक सोच जगाउछ र यसले प्यारा सिम्पथेटिक स्नायुलाई प्रवल पार्दै पाचन कृयामा ठूलो सहयोग पु¥याउछ । खानाको विधिविधान भित्र खाना पूर्वको प्रार्थना लामै हुनु पर्छ भन्ने छैन । हाम्रो जीवनलाई सुचारु गर्ने खाना जस्तो परमावश्यक वस्तुको प्राप्तिलाई उत्सव र देवी अन्नपूर्र्णा प्रति एउटा सानो धन्यवाद र श्रध्दा भावले कसैलाई पनि पुरा कर्मकाण्डी, नैष्ठिक र धर्मभिरु वनाइहाल्ने होइन । यसलाई हाम्रो कर्तव्य पनि मान्न सकिन्छ, खासगरी स्वास्थ्य लाभको दृष्टिबाट । अहिले पनि खानाको पहिलो गाँसलाई श्रद्धापूर्वक ढोग्ने र खानाको मर्यादाको लागि भोजन अवधिभर मौनता अपनाउने मान्छे प्रसस्त भेटिन्छन् । खाद्य वस्तुको सात्विक, राजसी र तामसी प्रभावकोे चर्चा विना खाद्यको साङ्गोपाङ्गो चर्चा हुनसक्तैन । गीताको अध्याय १७ का श्लोक ८,९,१० ले यसलाई खुलस्त पारेका छन् । झोलिला वस्तुहरु, स्वस्थ फ्याट, स्थिरा अर्थात् आड दिने र हृदयमैत्री खानाहरु सात्विक प्रवृतिका व्यक्तिहरुका प्रिय खाना हुन् र यस्ता वस्तलेु आयु, स्वत्व (अस्तित्व) वल, आरोग्य, शुख र प्रिती (सन्तुष्टीको भाव) लाई बढावा दिन्छन् ।यसको विपरित खानाको तयारी पछि ३ घण्टा व्यतित भएको, स्वाद हिन, दुर्गन्धित, प्रदुषित, खाना खाएर अन्तमा बचेको र छुन निसिद्ध मानिएको खाद्य वस्तुको सेवनले तामसी वृत्तिलाई वृद्धि गर्दछन् । एवं प्रकारले ज्यादा तितो, ज्यादा अम्लिय, बढी नुनिलो, धेरै तातो, सुख्खा, तिखो स्वाद र जलनको अनुभूति दिने खाना राजसी प्रकृतिका मानिन्छन् र यस्ता खाद्यवस्तुले दुःख, शोक र आमय (रोगहरु) लाई जन्म दिन्छन् ।यि सबैको सार के हो भने जसरी अस्वस्थ मनोदशाले हाम्रो सिङ्गो पाचन कार्यलाई दुस्प्रभाव पार्छ ठिक त्यसैगरी गलत खानपानले पनि हाम्रो सोंच, चिन्तन र विचार शैलीलाई दुषित गरी हमेशा गलत वृत्ति तर्फ उन्मुख गराइरहन्छ । यस अर्थमा पनि स्वस्थ र सन्तुलित शरीर,मन र कर्मको लागि तामसी र राजसी प्रकृतिका भोजनबाट जति छिटो मुक्त हुन सक्यो त्यति नै उत्तम ठानिएको छ । चिल्लो पदार्थको सवालमा आजको पुस्तामा अनावश्यक सतर्कता पाइन्छ ।

सेचुरेटेड र ट्रान्सफ्याट हानीकारक भएको कुरामा कुनै विवाद छैन । तर अनसेचुरेटेड फ्याट अन्तर्गतको ओमेगा ३ जस्तो चिल्लो पदार्थ शरीरको परमावश्यक स्वास्थ्यवध्र्दक पोषकतत्व मात्र होइन पाचन अङ्गको लचकताका लागि समेत स्वस्थ फ्याट सहयोगी नै हुन्छ । प्रश्न धेरै थोरैको होइन बरु कुन फ्याट स्वस्थकर हुन्छ र कुन हुदैन भन्ने पहिचान र छनौटको हो । तसर्थ फ्याटलाई पुरै निषेध गर्नु सट्टा स्वस्थ तेलिय वस्तुलाई वाञ्छित मात्रामा लिनु नराम्रो होइन बरु जरुरी हो ।त्यस्तै खाद्यको लागि जति नविन फसल, उति बढी हितकारी मानिन्छ । यस्तो खानाले शरीरमा बल, पुष्टी, बुद्धि र शौर्यको सुनिश्चितता गर्छ भने पुरानो उत्पादनले उल्टै असमयको बुढ्यौलीलाई रफ्तारमा लैजाने  आयुर्वेदिक मान्यता छ ।

“यो शैक्षिक प्रयोजनका लागि मात्र हो ”