बागी फकाउन चितवन झरेका गृहमन्त्री खाँण रित्तै फर्किए
काठमाडौं । बागी उमेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणको प्रयास असफल भएको छ । बागी उम्मेदवारले उनको कुरा नमानेपछि खाँण रित्तै काठमाडौं फर्किने भएका छन् ।
चितवन पुगेर खाँणले नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । उनले आफू कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने अडानमा रहेको बताउँदै कांग्रेस बचाउन आफूले उमेदवारी दिएको बताएका थिए ।
“उमेदवारी फिर्ता गरिदिनुस् भन्ने गृहमन्त्रीको आग्रह थियो, चितवनका कांग्रेस कार्यकर्ताको भावना र प्रतिष्ठाको विषय जोडिएको हुँदा यो निर्णय लिन सक्दिनँ भनेँ, म उमेदवारी फिर्ता नलिने ठाउँमा पुगिसकेको छु ।”
खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि केही दिनदेखि चितवनमै छन् ।
चितवनमा कांग्रेसले माओवादी केन्द्रलाई मेयर दिएर गठबन्धन गरेको छ । माओवादीका तर्फबाट रेणु दाहालले मेयरमा उमेदवार दिएकी छन् । यसअघि कांग्रेसका बागी उमेदवार पौडेललाई चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उमेदवारी फिर्ता लिइदिन अनुरोध गरेका थिए ।