गृहमन्त्री खाँणलाई पौडेलको जवाफ: मेरो होइन रेणुको उम्मेदवारी फिर्ता गराउनुस - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

गृहमन्त्री खाँणलाई पौडेलको जवाफ: मेरो होइन रेणुको उम्मेदवारी फिर्ता गराउनुस



चितवन- गृहमन्त्री बालकृष्णा खाँणले चितवन पुगेर भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई भरतपुर पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन ‘कन्भेन्स’ गर्न आग्रह गरेका थिए।

तर, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन्।

उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन्।

‘उहाँहरूले उम्मेदवारी फिर्ता लिइदिनुपर्‍यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो। मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो। मैले एक्लै निर्णय गर्ने विषय होइन, त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ,’ उनले भने।

यसका साथै उनले आफू ब्याक हुनुभन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताएको प्रतिक्रिया दिएका छन्।

उनले उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए।