कुकुरलाई खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने : शाही
रौतहट – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने खुलासा गरेका छन् ।
रौतहटको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस रौतहटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूले खाली जग्गा देख्यो कि आफ्नो नाममा गर्ने गरेको बताए ।
वालुवाटारको ललिता निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेलले छोराको नाममा गरेको सन्दर्भमा बोल्दै महासचिव शाहीले कुकुरले बिजुलीको खम्बा देख्ने बित्तिकै पिशाव गरेजस्तै कम्युनिस्टले खाली जग्गा देख्ने बित्तिकै अतिक्रमण गरिहाल्ने प्रवृत्ति देखिएको बताए ।
‘बालुवाटार आफ्नो नाममा कब्जा गरेका कम्युनिस्ट नेताहरू अब पनि खाली जग्गा देख्ने बित्तिकै कब्जा गर्लान्,’ उनले भने । नेपाली कांग्रेसले रौतहट जिल्लामा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको हो ।
आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, सांसदद्वय मोहम्मद अफ्ताब आलम, देवप्रसाद तिमल्सिना, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरूले सम्बोधन गरेका थिए ।
कांग्रेसका हज्जारौं कार्यकर्ताले खचाखच भरिएको आमसभालाई सम्बोधन गर्दै नेताहरूले कम्युनिस्ट सरकारको विरोध गरे । उनीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशलाई भड्खालोमा लैजान लागेको भन्दै चिन्ता जनाए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताले सिचाइँको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गरेर बेमौसमको बाजा बजाइरहेको बताए । उनले भने, ‘तराई मधेसमा जनताले खेत बारीमा सिचाइँ खोजेका छन् । पानीजहाज खोजेका छैनन् । पानीजहाज ल्याउन सबै पानी एकठाउँमा जम्मा गर्नुपर्छ । त्यस्तो भयो भने खेतबारी सुख्खा हुन्छन् ।’
वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरूले जनतालाई धोका दिइरहेको बताए । ‘जनताले अपेक्षा गरेको कुनै पनि काम यो सरकारले गर्न सकेन,’ उनले भने, ‘अब चुपचाप सहेर बस्न सकिँदैन ।’ पौडेलले सरकारले भ्रष्ट, भूमाफिया, तस्कर लगायतलाई संरक्षण गरेर राखेको आरोप लगाए ।
उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाले सबै शक्ति केन्द्रित गरेर प्रधानमन्त्री शक्तिशाली बन्ने होडमा लागेको बताए । उनले कांग्रेसले फेरि जनताको अधिकारका लागि कम्युनिस्टहरूविरुद्ध लड्ने बेला भएको बताए । सांसद मोहम्मद अफ्ताब आलमले जनताको अधिकारका लागि कांग्रेस सधैं अग्रभागमा रहने बताए ।
सांसद देवप्रसाद तिमिल्सिनाले कम्युनिस्ट सरकारको झुठो आश्वासनबाट नेपाली जनता आजित भएको बताए । उनले कांग्रेसको आधार क्षेत्र तराई मधेसबाट कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।
नेपाल तरुण दलका महामन्त्री भुपेन्दजंग शाहीले वर्तमान सरकार हरेक ठाउँमा असफल भएको बताए । उनले सरकारी जग्गा कब्जा गर्नेहरूलाई प्रधानमन्त्री ओलीले संरक्षण गरेर बालुवाटारमा राखेको आरोप लगाए । दुई महिना अगाडि रौतहटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि प्रदेश २ स्तरीय आमसभाको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई काउन्टर दिँदै रौतहट कांग्रेसले भव्य आमसभाको आयोजना गरेको छ ।