ओली र प्रचण्डको काटिएको नाकको उपचार गर्नुपर्छ: खगेन्द्र संग्रौला - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

ओली र प्रचण्डको काटिएको नाकको उपचार गर्नुपर्छ: खगेन्द्र संग्रौला



काठमाडौं– लेखक खगेन्द्र संग्रौलाले अनसनरत डा गोविन्द केसीलाई अपराधीको जस्तै व्यवहार गरिएको बताएका छन्। आज डा केसीको समर्थनमा काठमाडौंमा भएको विशाल प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै संग्रौलाले भने,‘डा केसी समाजको कल्याणका लागि अगाडि बढिरहनु भएको छ।

डा केसीले अगाडि सारेका मागहरु सबै नेपाली जनतालाई समाजवादतर्फ अगाडि बढाउने खालका छन्। आफूलाई जनवादी र समाजवादी भन्नेहरुबाट भने डा केसीमाथि अपराधीको जस्तै व्यवहार गरिएको छ।’

उनले अस्पतालमा लाठिचार्ज, अश्रुग्यास तथा गोली प्रहार गरिएकोप्रति दुःख व्यक्त गरे। ‘अस्पतालबाट अपहरण शैलीमा डा केसीलाई काठमाडौं ल्याइन्छ। काठमाडौं ल्याएपछि मागको विषयमा कुनै पनि चासो दिइँदैन।’, लेखक संग्रौलाले सरकारलाई प्रश्न गरे, ‘के सरकार डा केसीको मृत्युको प्रतिक्षामा छ?’

वर्तमान ओली सरकार इतिहासमै सबैभन्दा छोटो समयमा बदनाम हुने सरकार भएको दावी गरे। ‘बितेको एक महिनामा जुन रुपमा नेपाली जनताका माझमा ओली सरकार अलोकप्रिय र बदनाम भएको छ, इतिहासमा यति छोटो समयमा कुनै पनि सरकार बदनाम भएको छैन।’

आम नागरिकलाई सडकमा उत्रन सरकारले बन्देज लगाउनु राजा ज्ञानेन्द्रको समयलाई उल्टयाउन खोजिएको आरोप लगाए।

प्रधानमन्त्री ओली र पुष्पकमल दाहाललाई चुनावमा जाँदा जनतामाझ आफूले गरेका वाचाहरु सम्झिन आग्रह गरे। ‘पछिल्लो १ महिनामा माफियाहरुसँग मिलेर, चिकित्सा क्षेत्रका व्यापारीहरुसँगै उभिएर केपी ओली र पुष्पकमल दाहालले आफ्नो नाक काँटेका छन्, त्यसको दुवैले उपचार गरुन्।’